Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मुखर्जीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ रङ आउँछ : राजदूत राय


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, कात्तिक १४ । नेपालका लागि भारतीय राजदूत रणजित रायले आगामी बुधबारबाट हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ ल्याउने बताएका छन् ।

आइतबार रिपोटर्स् क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको सन्चारकर्मीको टोलीसँगको कुराकानीमा राजदूत रायले भने–‘उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ भरिन्छ, यसका साथै दोस्ती प्रगाढ बन्छ ।’

उनले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई दुबैपक्षले उत्तिकै महत्व दिएकोसमेत बताए ।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुबैतर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमण भइरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत् बनाउने विश्वास व्यक्त गरे ।

उनले भने–‘पछिल्लो समय दुबैपक्षबाट प्रधानमन्त्रीस्तर र विदेशमन्त्रीस्तरबाट द्विपक्षीय भ्रमण भइरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो ।’

उनले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भइसकेकोसमेत जनाए ।

राष्ट्रपति मुखर्जीको पूर्वनिर्धारित् कार्यक्रम यथावत् रहेको बताउँदै उनले भने–‘उहाँ काठमाडौं, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

कार्यक्रममा राजदूत रायले सम्पूर्ण नेपालीलाई दीपावलीको शुभकामनासमेत दिए ।

‘सबै नेपालीमा सुख–शान्ति, समृद्धि होस्, नेपाल–भारतबीचको निकटता अझै बढोस्, हामीबीचको मित्रता अझै प्रगाढता होस्’–उनले भने ।

कार्यक्रममा राजदूत राय क्लबका सभापति ऋषि धमलासँग छमछमी नाचेका थिए । रासस

Skip This