Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कात्तिकभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने समझदारी


0
Shares

काठमाडौं, कात्तिक १५ । सरकार र आन्दोलनरत सङ्घीय गठबन्धनबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ । संविधान संशोधनको मागसहित आन्दोलनरत गठबन्धनको माग सम्बोधन गरेर संविधान कार्यान्वयनलाई सहज तुल्याउने उद्देश्यले आइतबार भएको वार्ता सकारात्मक रहेको सम्बद्ध नेताहरुले जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि सत्तारुढ दल र गठबन्धनका नेताले वार्ता सकारात्मक ढङ्गले अघि बढेको प्रतिक्रिया दिएका हुन् । उनीहरुले छिटै टुङ्गोमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै सरकारले औपचारिक वार्ता थालेको हो ।

सरकारसँगको पहिलो औपचारिक वार्ता सकारात्मक बनेको गठबन्धनका सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले जनाए ।

वार्तामा प्रधानमन्त्री दाहालले सकेसम्म सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराउने जानकारी दिएको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार सङ्घीय आयोगको कार्यक्षेत्र विस्तार गरेर सहमति खोज्न सकिनेसमेत प्रधानमन्त्री दाहालले जनाएका थिए ।

वार्तामा सहभागी नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने समझदारी भएको छ ।

वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल तथा गठबन्धनका तर्फबाट नेताहरु महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, अशोककुमार राई, महेन्द्र राय यादव लगायत सहभागी थिए ।

Skip This