२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


यसपाली यस्तै भो दाजै , अर्को साल भेटौंला तिहार…


39
Shares

रीश्मा थापा –

आकाश खुल्छ । दिन घमाइलो हुन्छ । झलमल्ल ताराहरू चम्किरहेका छन् , छिमकीका घरहरू दीपावलीले सजिएका छन् । रात रमाइलो छ । भैलिनीहरू घरनजिकै भैली भट्याइरहेका छन् । म पनि मानिसहरूको भिड मै छु तरपनि एक्लो महसुस गरिरहेकी छु । बजार निस्कन्छु , जताततै मखमली, सयपत्री र हजारी फुलहरूकामाला र गुच्छाहरू देख्छु, सप्तरङ्गी टीकाको किनबेच देख्छु । झन् मन बहकिन थाल्छ । अनि सोच्छु—सायद यसपाली पनि हजुरका निधारमा सप्तरङ्गी टीका भर्न पाएको भए ! के गर्नु दाजै ,तपाईं सात डाँडा पारी हुनुहुन्छ म भने वारी …
त्यसैले त मन थामेर भन्न बाध्य छु —यसपाली त यस्तै भो दाजै ,अर्को साल भेटौंला तिहार….
आखिर विगतका तिहारको सम्झना गर्दै र आगामी तिहारको कल्पना गर्दै बस्नुमात्र रहेछ मेरो नियति ! हामी आफ्नो संस्कृति र परम्परा सदियौँ देखि मान्दै आएका छौं । तपाईं र म पनि दाज्यै ! यही प्यारो संस्कृतिको न्यानो अँगालोमा बेरिएका छौं । तिहार मनाउनुका थुप्रै आध्यात्मिक अर्थ छन् , अनेक वैज्ञानिक कारण पनि होलान् । ती अनेकौँ कारणहरूभन्दा पनि हजुरको निधारमा सप्तरङ्गी टीका भर्न चाहनुको मेरो अझ अर्कै कारण पनि छ,त्यो हो — अनेकौं रङ्गहरूले सम्पन्न हामी दाजुबहिनीको आत्मीयताको नाता ।

दाज्यै ! तपाईंले गर्ने मायामा म ती सबै रङ्गहरु अनुभूत गर्छु ,यी तिनै रङ्गहरू हुन् जसले  भाइटीकाका दिन म त्यो उज्यालो निधारलाई सजाउने गर्छु । सेतो, रातो, गुलाबि, हरियो, नीलो, बैजनी र सुनौलो रङ्गले यसपालीको भाइटीकामा हजुरको निधार भर्ने रहेर थियो मलाई ।
तर मन थामेर भन्नबाध्य छु —यसपाली त यस्तै भो दाजै ,अर्को सालभेटौंला तिहार….

हजुरले हरेकपल , हरेक क्षण हाम्रो सम्बन्धलाई पवित्र र कञ्चन राख्ने प्रयास गर्नुभयो । कहिले गाली गर्नुभो ,कहिले मधुर मुस्कान छर्नुभो , बल्लअहिले आएर बुझें यो सबै मेरो भलाइकै लागि गर्नु भएको रहेछ । त्यसको आभार व्यक्तगर्दै हजुरको निधारमा सेतो रङ्ग भर्न चाहन्छु।
त्यो सेतो रङ्गमाथि म रातो रङ्ग भर्न चाहन्छु , त्यो शक्ति र ऊर्जाको रङ्ग हो । हरेक प्रतिकूल समयमा ,असफलतामा सधैं मेरो शक्ति बनेर उभिनुभयो । मेरा हरेक दुःखमा ढाल बनेर अगाडि आउनुभयो अनि मायालु बनेर सही मार्गदर्शन पनि दिनुभयो । त्यसैको प्रतीक रातो रङ्ग म हजुरको उदार निधारमा सजाउन चाहन्छु ।
कैयौँ पटक यस्तो बेला आयो की जब हामीले एक अर्कासँग दाजु बहिनीको सम्बन्धबाट फैलिएर मित्रताको न्यानो व्यवहार पनि गरेका छौं । छिमेकीका उखु, सुन्तला र काँक्राचोर्दा, अझ आमा र बाबाको अगाडि एक अर्काका सरल सहज गल्तीहरू ढाकछोप गर्दा साँच्चि मैले हजुरसँग गहिरो मित्रताको अनुभूति गरेकी छु , त्यही निर्दोष मित्रताको प्रतीक गुलाबी रङ्गपनि म हजुरको उच्च निधारमा सजाउन चाहन्छु ।
तर मन थामेर भन्नबाध्य छु — यसपाली त यस्तै भो दाज्यै ,अर्को साल भेटौंला तिहार….
दाजु ! हजुरबाट मैले प्रकृति जस्तै परिपूर्ण , हराभरा , स्वच्छ बन्ने र  अन्तर्मनलाई आनन्दित राख्ने थुप्रै उपायहरू  सिक्ने र अनुसरण गर्ने अनमोल अवसर पाएँ। त्यसैको आभार स्वरूप हजुरको उज्यालो माथमा हरियो रङ्ग भर्न चाहन्छु।
मलाई सम्झना छ अझै पनि, हजुरका सामु कत्ति गुनासाहरू पोखेँ, कैयौं पटक निरर्थक कुरामा झगडालु बनेँ अनि कैयौँ पटक केटाकेटीपनामा परेर सताएँ तर नीलो अनि फराकिलो आकाश र गहिरो समुद्रजस्तो हजुर त्यो मनले कहिल्यै मप्रति गुनासो गरेन । त्यसैले गर्वका साथ नीलो रङ्ग पनि हजुरको निधारमा भर्ने रहर लिएकी हुँ ।
मैले जे जति समय हजुरका साथमा बिताएकी छु ती सबै पलहरू अत्यन्त आनन्दमय छन् । ती पलका मधुर स्मृतिले आज झनबढी खुशी र आनन्दको महत्वाकाङ्क्षी बनाएको छ । त्यसै परम आनन्दको प्रतीक बैजनी रङ्ग मेरो लागि प्रिय छ अनि म हजुरको निधार बैजनीमय बनाउने प्रतीक्षामा छु ।
मेरो प्यारो दाजु ,
हजुरसँग जे जति सद्गुणहरू छन् ती सबै गुणको परिमाण हजुरसँग अपरिमित मात्रामा रहेको छ । ती उच्च गुणहरूको आदर गर्दै अनि हजुरको सुनौलो जीवनको कामना गर्दै म हजुरको निधारमा सुनौलो रङ्ग पनि सजाउन चाहन्छु ।
सप्तरङ्गी टीकासँगै  दिर्घायुको कामना गर्दै मखमलि फूलको माला पनि पहिराउन चाहान्छु ।  मेरो प्यारो दाज्यै..तर के गर्ने ?आज त बस् , परिस्थितिको विवशताले मन थामेर यत्ति भन्न बाध्य छु — यसपाली त यस्तै भो दाज्यै ,अर्को साल भेटौंला तिहार….