
काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत् ११३७ का अवसरमा शुभकामना दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेकोे भूमिका अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसालेकाले उनी एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तक रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पु¥याएको योगदान हामी सबैका लागि प्रेरणादायी छ भन्दै प्रधानमन्त्रीले नेपाल राज्यको निर्माणमा विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदाय र व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेरमात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिने उनको भनाइ छ ।
नयाँ संविधानमा सबैका भावनाहरुको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटेको भन्दै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि महत्वपूर्ण योगदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
गणतन्त्र स्थापनापछि आफ्नै कार्यकालमा नेपाल सम्वतलाई राष्ट्रिय संवतका रुपमा घोषणा गरेको भन्दै उनले अब राष्ट्रिय सम्वतका रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्