
काठमाडौं, कात्तिक १५ । नेपाल सम्वत् ११३७ प्रारम्भ भएको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिले बेग्लाबेग्लै शुभकामना सन्देश दिएका छन् । उनीहरुले नेपाल सम्वत् ‘जागरण कालको इतिहास’ र ‘संस्कृतिको एक जीवन्त धरोहर’ भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को अवसरमा देश–विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ । उनले नेपालीको आफ्नै मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिने आशा व्यक्त गरेकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको तीव्र गतिमा कार्यान्वयन गर्दै बलियो राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितका समृद्ध नेपाल निर्माण मुलुकको अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ दिनले हरेक वर्ष हामी सबै नेपालीलाई यसका प्रणेता शंखधर साख्वाःको योगदानलाई सम्झाउने गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्