२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बडीमालिका क्षेत्र ओझेलमा, भक्तजनलाई जान–आउनै समस्या (भिडियो)


0
Shares

कैलाली, कात्तिक १५ । धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको अत्यन्त महत्वपूर्ण बडीमालिका क्षेत्र संरक्षण र सम्बर्द्धनको अभावमा संकटमा परेको छ । बाटोघाटो र गाँसबासको व्यवस्था नहुँदा मेला भर्न आउने भक्तजनले निकै सास्ती खेप्नु परिरहेको छ ।

बाजुराको कैलाशमाडौं गाँउ विकास समिति वडा नम्बर १ स्थित बडीमालिका क्षेत्र संरक्षण र सम्बर्द्धनको अभावमा संकटमा परेको हो । नेपालको विभिन्न जिल्ला र भारतको कुमाऊ र गढवालबाट हजारौं भक्तजनहरु दर्शनको लागि बडीमालिका पुग्छन् । तर भौतिक पूर्वाधारको व्यवस्थापन नहुँदा बडीमालिका मन्दिर ‘बत्ती मुनिको अँध्यारो’ बनेको तिर्थालु बताउँछन् ।

सरकारी निकाय र राजनैतिक दलका नेताहरुको बेवास्ताका कारण बडीमालिका ओझेलमा परेको स्थानीयको गुनासो छ ।

झण्डै ६ महिना हिउँले ढाकिने बडीमालिका क्षेत्र १५ हजार फिट उचाईमा रहेको छ । बडीमालिका प्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनहरुमा टेक्न पाउँदा यात्राका क्रममा भोगेको कष्ट, थकान सबै बिर्सने तिर्थालु बताउँछन् । बडीमालिकाको दर्शन र आराधनाले सन्तान नभएकालाई सन्तान, दुःखीलाई सुख प्राप्त हुने विश्वास छ ।

बडीमालिकाको प्रार्थनाले रोगव्याधी पनि निको हुने विश्वास गरिन्छ । यही विश्वास र बडीमालिका प्रतिको अगाध आस्थाका कारण हजारौं भक्तजन यहाँसम्म पुग्ने गरेको मन्दिरका पूजारी नेत्रप्रसाद उपाध्याय बताउँछन् ।

आफ्ना पति महादेवको अपमान र निन्दा सहन नसकेर सतीदेवीले पिता दक्ष प्रजापतिको यज्ञकुण्डमा हाफमालेर आत्मदाह गरेको पौराणिक कथा छ । पत्नी बियोगले झण्डै बिक्षिप्त भएका महादेवले सतीदेवीको मृत शरीर काँधमा राखेर पृथ्वी चहार्दै गर्दा बडीमालिकामा सतीदेवीको बायाँ कुम पतन भएको विश्वास छ । त्यही समयदेखि नै बडीमालिकामा भगवतीको पूजा गर्न थालिएको धार्मिक विश्वास छ ।

मोहित टुर्स एण्ड ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी परमानन्द भण्डारी बडीमालिकाको महत्वका बारेमा प्रचार प्रसार हुन सके हिन्दु धर्मावलम्बीहरुको घुईचो लाग्ने बताउँछन् ।

धनगढीबाट एक दिनमा बाजुरा र त्यहाँबाट करिव दुई दिनमा बडीमालिका पुगिन्छ । जाँदा कोर्ध र मार्तडी भएर बडीमालिका पुग्नेहरु बडीमालिकाको दर्शन गरेर फर्किदा भने जनैपूर्णिमामा लाग्ने मेलामा नाट्येश्वरीको दर्शन गरेर फर्किन्छन् ।

हिन्दुहरुको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ । बडीमालिका क्षेत्र संरक्षण, सम्बर्द्धन र विकासको पर्खाईमा छ । पानी र शौचालयको उचित व्यवस्थापन नहुँदा बडीमालिका क्षेत्र दुर्गन्धित भएको छ । बाटोमा र बडीमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्था नहुँदा भक्तजनहरुले निकै कष्ट खेप्नु परेको छ । बडीमालिका जाने बाटोमा कुनै चिन्ह र संकेतहरु नभएका कारण तिर्थालुहरु अलमलिने तथा हराउने गरेका छन् ।