२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


अब म स्वस्थ्य भएको छु : पूर्वराष्ट्रपति यादव


0
Shares

                                                                   फाइल फोटो

वासिंगटन डिसी, कात्तिक १५ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू क्यान्सरको संक्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार रासससँगको संक्षिप्त कुराकानीका क्रममा डा. यादवले भने–‘मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।’

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना भएका यादवको डा. मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोबटिक सर्जरी विधि अपनाएर उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

स्थानीय समयअनुसार सोमबार (आज) साँझ नेपाल फर्किन लागेका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथिगृहमा आराम गरिरहेका थिए ।

‘उपचारको नियमित चेकजाँचको लागि ५/६ महिनापछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु’–डा. यादवले भने ।

कुराकानीका क्रममा पूर्वराष्ट्रपति डा. यादवले भने–‘म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।’ रासस