२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


मुखर्जी भ्रमणको सुरक्षा योेजनाबारे सेनासँग जानकारी लिइयो


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योजनाकाबारेमा परराष्ट्र, रक्षामन्त्रीसहित उच्चसरकारी अधिकृतले जानकारी लिएका छन् ।

भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षासचिव श्रीधर सापकोटा, परराष्ट्रसचिव शंकरदास वैरागीले सुरक्षा योजनाकाबारेमा नेपाली सेनासित सोमबार जानकारी लिएका छन् ।

सो अवसरमा प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतकोसमेत उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्चसतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौंमा स्वागत् गर्नेछिन् ।

सोही दिन राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।

त्यसैगरी, राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्ने स्वागत् समारोहमा सहभागी हुनेछन् ।

भ्रमणको दोस्रो दिन भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्रपति आफ्नो सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा भाषण दिनेछन् ।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।

यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक स्वागत् कार्यक्रम आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जानेछन् ।

भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए । रासस