२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


दमक–काठमाडौं टाटासुमो हाँकेर यात्री ओसार्दै महिला चालक लक्ष्मी


0
Shares

अजितकुमार झा (रासस)

इनरुवा, कात्तिक १५ । सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङको मधुमल्ला–३ तोरीबारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटासुमो चलाएर काठमाडौंदेखि दमकसम्मको यातायात सेवा दिन थालेकी छन् ।

पछिल्लो समय दमक–१३ मा बस्दै आएकी पाण्डेले १२ जना अट्ने सवारी–साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गरेकी छन् ।

दुई वर्षअगाडि साना तथा मध्यम सवारी–साधन चालक अनुमतिपत्र लिइ छोटो दूरीको साधन चलाएर सेवा दिँदै आएकी उनले दसैंदेखि लामो दूरीको सवारीमा हात हालेकी हुन् ।

करिब तीन हप्तायतादेखि पाण्डेले मे१ज २०६३ नम्बरको गाडीबाट दमकदेखि काठमाडौं र काठमाडौंदेखि दमकसम्म यात्री ओसार्न थालेकी हुन् ।

पाण्डेले चलाउँदै आएको गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला–पुरुष दुबैले अहिले निर्धक्कसँग उनको गाडी चढ्न थालेका छन् ।

महिला भएर लामो दूरीमा सवारी–साधन चलाउन पाएकामा खुसी देखिएकी पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताउँछिन् ।

राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रीहरुलाई गन्तव्यमा पुर्‍याउन पाएकामा उनी सन्तोष मान्छिन् ।

लामो दूरीको यात्रामा एक्लैले ७/८ घन्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घन्टामा दुई पटकसम्म दमक–काठमाडौंबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उनले राससलाई बताइन् ।