२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


तिहारको अन्तिम दिन आज भाइटीका


0
Shares

काठमाडौं, कात्तिक १६ । आज तिहारको अन्तिम दिन भाइटीका । आज दिदीबहिनीले दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिएर भाइटीका मनाउने गरिन्छ ।

यस दिन घर घरमा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका, मखमली र सयपत्री पूmलको माला लगाई दीर्घायूको कामना गर्दछन् । यम द्वितीयासमेत भनिने भाइटीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदीबहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्दछन् ।

भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यसदिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ । दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ ।

दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् । दाजुभाई तथा दिदीबहिनीलाई एक ठाउँ गराउने यो पर्व भ्रातृत्व प्रेमको अपूर्व पर्व समेत हो ।

यसवर्षको भाई टीकाको साइत आज विहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाई टीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साईतमै टीका लगाउनेका लागि ११ बजेर ५२ मिनेट जाँदा उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।