Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


दोहोरो फाइदा हुने भएपछि धानखेती छोडेर माछा र बंगुरपालन गर्दै


0
Shares

हेटौंडा, कात्तिक १६ । मकवानपुर हाडिखोला गाउँ विकास समिति वडा नम्बर ७ मसिनेका किसान परम्परागत धान खेतीबाट आम्दानी हुन नसकेपछि माछापालन र बंगुरपालनतर्फ आकर्षित भएका छन् ।

धान खेती गर्दा ज्याला महँगो, मजदुर पाउन गाह्रो, लागतभन्दा कममा धान बिक्री गर्नुपर्ने बाध्यताले उनीहरु वैकल्पिक बाटोतर्फ तानिएका हुन् ।

अनुकुल हावापानी, पर्याप्त पानी र माछा बिक्रीका लागि बजार भएकै कारण उनीहरु माछापालनतर्फ लागेका हुन् । कृषि विकास कार्यालय मकवानपुरले पोखरी निर्माणका लागि नगद अनुदान, कृषि विश्वविद्यालय रामपुर चितवनबाट माछाको भुरा र दाना सहयोग उपलव्ध गराएपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

कृषकले परम्परागत धानखेतीभन्दा चारगुणा बढी फाइदा लिन सक्ने कृषि विकास कार्यालयले जनाएको छ । घरपरिवार कै सदस्यले गर्न सक्ने, मजदुर नचाहिने भएकाले सजिलो भएको र माछा पालनसँगै बंगुरपालन पनि गरिरहेकाले अतिरिक आम्दानी भइरहेको कृषक बताउँछन् ।

माछा किन्न व्यापारी घरमै आउने हुँदा बजारको समेत समस्या नरहेको कृषक बताउँछन् । मसिनेमा २५ घरपरिवारले अहिले १५ बिगाहमा माछापालन गर्दै आएका छन् ।