
राजन राई
भोजपुर, कात्तिक १६ । गत वर्ष भूकम्पले पानीको मुहान भासिएपछि पिउने पानीको अभाव झेल्दै आएका भोजपुरका दक्षिणी गाविस मानेभञ्याङका बासिन्दा अहिले बसाई सरिरहेका छन् ।
भूकम्प र सुख्खा खडेरीले पिउने पानीको अभाव भएपछि वैकल्पिक बासस्थान खोज्दै मानेभञ्याङ्का अधिकांश सर्वसाधारण बसाइ सर्न थालेका हुन् ।
भूकम्पका कारण प्राकृतिक रुपमा उम्रिएका ढुङ्गेधारा, कुवा, पँधेरालगायतका साना–ठूला मुहान सुकेपछि पानीको वैकल्पिक स्रोत समेत अभाव भएकाले गाउँ नै रित्तो हुने गरी बसाई सर्न बाध्य भएको स्थानीय बताउँछन् ।
मानेभञ्ज्याङ गाविसका थाक्ले, गुराँसे र जुकेपानीका गरी २५ घरपरिवारले यसवर्ष गाउँ छाडेर तराई बसाईं सरिसकेका छन् । यस्तै मानेभञ्ज्याङकै भोर्लेनी, आम्बोटे, चाक्से, डाँडागाउँ, तुन्ताङ, डडुवा र कात्तिकेका ३१ घरपरिवारले समेत यसै बर्ष बसाईं सरेर अन्यत्र गइसकेको मानेभञ्याङ गाविसका कर्मचारी तीर्थ तामाङ बताउँछन् ।
गाउँभन्दा माथि पानीको मुहान नभएको कारण पनि मानेभञ्ज्याङमा पानीको अभाव बढी नै देखिएको छ । पम्पिङ सिस्टमबाट खोलाको पानी तानेरमात्रै यहाँको पानीको अभाव समाधान गर्न सकिने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय भोजपुरका प्रमुख रामपुकार साफी बताउँछन् ।
भोजपुरमा बर्षेनी सरकारी तथा दातृ निकायको सहयोगमा खानेपानी आयोजनाहरु निर्माण तथा विस्तारका काम भईरहेका छन् । तर जिल्लामा रहेका अधिकांश खानेपानीको मुहान सुक्नु र टाढाबाट ल्याउँदा लगानी धेरै हुँदा स्थानीय भने थातथलो छोड्न बाध्य बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्