२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


रानीपोखरी र काष्ठमन्डपमा भाइटीका प्रभावित, मन्दिरबाहिरै टीका


0
Shares

काठमाडौं, कात्तिक १६ । तिहारको भाइटीकाको एकदिनमात्र खुल्ने रानीपोखरीस्थित मन्दिर यस वर्ष पनि खुल्न सकेन ।

२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण भत्किएको काठमाडौंको रानीपोखरी पुनःनिर्माण नगर्दा यसपटक पनि रानीपोखरीमा हुँदै आएको भाइटीका प्रभावित बनेको हो ।

सर्वसाधारणका लागि रानीपोखरीको प्रवेशद्वारमा साँघुरो गरी टीका लगउने व्यवस्था मिलाइएको थियो ।

धेरै सर्वसाधारण रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न आएपनि उनीहरु गेटबाटै फर्कनुपरेको थियो ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरु रानीपोखरीस्थित बालगोपालेश्वर महादेवको मन्दिरमा पुगी टीका लगाइ आर्शिवाद लिने र दिने गर्छन् ।

काठमाडौं महानगरपालिकाले तिहारअघि नै दर्शन गर्न मिल्ने गरी मन्दिर निर्माण थालेपनि मापदन्डविपरीत बनाइएको भन्दै पुरातत्व विभागले निर्माण रोक्न निर्देशन दिएपछि रानीपोखरी बनाउने जिम्मा पुरातत्वले नै लिएको छ ।

उता, काठमाडौंंको बसन्तपुरस्थित काष्ठमन्डपको मन्दिर पनि भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा यहाँ हुने गरेको सामूहिक टीका प्रभावित भएको छ ।

काष्ठमन्डपको अहिलेसम्म पुनःनिर्माणको काम नै सुरु भएको छैन ।

यसैबीच, दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विगतमाझैं यो वर्ष पनि ‘अञ्जली दिदी’ले राजधानीको बसन्तपुरमा सामूहिकरुपमा भाइटीका लगाइदिएकी छन् ।

भूकम्पले काष्ठमन्डप भत्किएको भएपनि सोही ठाउँमा पाल हालेर उनले मंगलबार टीका लगाइदिएकी हुन् ।