२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


भारतीय राष्ट्रपति भ्रमण सवारीको यसरी गरियो पूर्वाभ्यास


0
Shares

काठमाडौं, कात्तिक १६ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पूर्वाभ्यास मंगलबार गरिएको छ ।

मंगलबारको सवारी पूर्वाभ्यासका क्रममा २८ ओटा चारपांग्रे सवारी–साधन र १४ ओटा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पूर्वाभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो ।

राष्ट्रियसभागृहबाट लैनचौरस्थित भारतीय दूतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शीतल निवासमा पूर्वाभ्यास सवारी चलाइएको थियो ।

पूर्वाभ्यास सवारी शीतल निवासबाट बत्तिसपुतलीस्थित होटल द्वारिकाज् पुगी पशुपति मन्दिरसम्म गएको थियो ।

पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी मंगलबारको सवारी पूर्वाभ्यास समापन भएको थियो ।

सवारीका क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी–साधनको एस्कर्टिङ, सन्चारसम्बन्ध बिच्छेद गरिदिने ‘जामर’सहितको गाडी तथा एम्बुलेन्सलगायतको व्यवस्था गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा मंगलबार सवारी आवागमनको पूर्वाभ्यास गरिएको जानकारी दिए ।

सवारी पूर्वाभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टीका लगाउन हिँडेका सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो ।

तिहारका कारण सडकमा कम सवारी गुडेकाले अरु समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन ।

भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडकमार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस