
काठमाडौं, कात्तिक १६ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षा मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो ।
यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले वि.सं. २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक–चोकमा राखिएको छ । उनको सवारीपर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।
राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।
परराष्ट्रमन्त्री डा. महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ ।
त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् ।
उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजा–अर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौं विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।
भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।
भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजा–अर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् ।
राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्