
-प्रकाश मैनाली/ईमेज
सर्लाही । सहर बजार र सडकका पेटीहरुमा अस्तव्यस्त जीवन बिताइरहेकाहरुको संख्या ठूलो रहे पनि उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन ।
विभिन्न बाध्यताका कारण सडकपेटीलाई नै बास बनाएर अलपत्र भौतारिएकाहरुको दृश्य सर्लाहीमा पनि निकै देखिन्छ ।
विशेष गरी शहरी क्षेत्रका सडकपेटीमा तथा गल्लीहरुमा बेवारिसे बनेर बसेकाहरु भेटिन्छन् ।
त्यसरी बस्नेहरुहरुमध्ये घरपरिवारबाट अपहेलित भएका, शारीरिक अशक्त बनेका तथा मानसिक रुपमा विक्षिप्त बनेकाहरु बढी छन् ।
सन्ततीले हेला गरेर सडकमा ओर्लेका बेसहारा र वृद्धवृद्धाहरु राजमार्गसहितका विभिन्न ठाउँमा गास, बास र कपासको अभावमा छट्पटाइरहेको भेटिन्छ ।
उनीहरुलाई न कसैको मतलब छ नत उनीहरुप्रति नै कसैको चासो नै ।
दिनभर बजार र सडकपेटीमा भौतारिने उनीहरुमाथि कसैले दया गरेर खान दियो भने पेट भरिन्छ नत्र भोकले छट्पटाउनुपर्छ ।
मानवका रुपमा जन्मेर समेत घृणा र तिरस्कारको जीवन बिताउन बिवश छन् ।
दिनभर सडक तथा बजारमा भौतारिँदै हिँड्छन भने रात परेपछि मन्दिर, चौक चौतारमा बसेर रात गुजार्छन् ।
उसो त उनीहरुको व्यवस्थापनको लागि केही समाजसेवी र संघसंस्थाले पहल गरेका पनि छन् तर त्यो पर्याप्त हुन सकेको छैन ।
यस्ता व्यक्तिलाई आफ्नै घरमा राख्ने वातावरण मिलाउन सके भौतारिनुपर्ने अवस्था नआउने मानव सेवा आश्रमका संस्थापक उपाध्यक्ष धर्मप्रसाद पौडेल बताउँछन् ।
अलपत्र र लथालिङ्ग बनेर बाँचिरहेका उनीहरुले विभिन्न किसिमका हिंसा र यातनाको समेत सामना गरिरहेका छन् ।
उता सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई यस्ता व्यक्तिको व्यवस्थापनको लागि आफूहरुले मात्र केही गर्न नसक्ने तर कुनै संघसंस्थाले सहकार्य गर्न चाहे सहयोग गर्ने धारणा राख्छन् ।
जीवनमा आइपर्ने बाध्यताका कारण सडकमा पुगेका यस्ता व्यक्तिहरुलाई छीःछी दुरदुर गर्नुभन्दा आ–आफ्नो ठाउँबाट सहयोगका हात अगाडि बढाउने कि ?
“
प्रतिक्रिया दिनुहोस्