
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् ।
भारतीय वायुसेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमै पुगेर भारतीय समकक्षीको स्वागत् गरिन् ।
भारतीय राष्ट्रपतिको स्वागतमा नेपाली सेनाको एक टुकडीले विमानस्थलमै २१ तोपको सम्मानगारथ र सलामी अर्पण गरेको छ ।
विमानस्थलमा ओर्लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न भारतीय राष्ट्रपति मुखर्जी राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीसँग बुधबारै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय समकक्षी मुखर्जी नेपाल आएका हुन् । उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो ।
यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्