२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


भारतीय राष्ट्रपतिको भ्रमणः यस्तो हुँदैछ पोखरामा


0
Shares

पोखरा, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत् गठित स्वागतद्वार निर्माण र सरसफाइ, स्वागत् व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समिति एकजुट भइ आ–आफ्नो जिम्मेवारीअनुसार कामलाई तीव्रता दिएका छन् ।

क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार उपसमितिले तोकिएको जिम्मेवारीलाई विहीबार बेलुकासम्म सम्पन्न गर्ने गरी क्रियाशील बनेका छन् ।

सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको बताउँदै उनले राष्ट्रपति मुखर्जीको अगामी कात्तिक १९ गते हुने पोखराको भ्रमणका लागि सवारी आवागमनको पूर्वाभ्यास विहीबार गर्न लागिएको जानकारी दिए ।

राष्ट्रपति मुखर्जीको आगमनलाई लक्षित गरी पोखरामा विभिन्न ठाउँमा स्वागतद्वार निर्माण, सरसफाइ सौन्दर्यीकरणका काम भइरहेको पनि क्षेत्रीय प्रशासक बरालले जानकारी दिए ।

राष्ट्रपति मुखर्जीको भ्रमणलाई लक्षित गरी बिग्रे–भत्केका सडकको मर्मत गरिएको छ भने विभिन्न ९ ठाउँमा स्वागतद्वार राख्न लागिएकोमा सात ठाउँको स्वागतद्वार निर्माण सम्पन्न भइसकेको पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताए ।

उनले राष्ट्रपति मुखर्जीको सवारी हुने मुख्यमार्गमा त्यहाँका स्थानीयबासीसमेतको सहकार्यमा सरसफाइकार्य पनि अघि बढाइएको बताए ।

राष्ट्रपति मुखर्जीको सम्मानमा स्थानीयबासीले पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित पोखरा ग्रान्ड होटेलसम्मका बाटोको दुबैतर्फ दुबै देशका झन्डासहित भरिएका पानीका घडा राखेर स्वागत् गर्ने कार्यक्रम रहेको छ ।

स्वागत् व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठका अनुसार पोखरा विमानस्थलदेखि राष्ट्रपति मुखर्जी जाने रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म उनको सम्मानमा विभिन्न जातजातिबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत् गरिने कार्यक्रम छ ।

स्वागतका लागि सम्बन्धित टोल तथा समुदायमा आवश्यक पत्राचार भइसकेको जानकारी दिँदै उहाँले राष्ट्रपति मुखर्जीको सम्मानमा स्वस्तीवाचनका लागि लेखनाथ नगरपालिका क्षेत्रबाटसमेत बटुकहरुको उपस्थिति गराइने भएको जानकारी दिए ।

प्राप्त कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

विमानस्थलबाट केही समय आराम गर्नका लागि पोखरा ग्रान्ड होटलमा जाने र अपरान्ह ३ः०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले जानकारी दिए । रासस