
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित गरिएको छ । आइतवारका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा दुई दिन पछि मंगलवारका लागि सारिएको हो ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेश थपलियाको सुनुवाई गर्न आइतबार बोलाइएको बैठक कांग्रेसको आग्रहमा दुई दिन पछि मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमै बसेको संवैधानिक परिषदको चैत ११ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
सुनुवाई समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले परिषदको सिफारिसका विषयमा सभापति देउवासँग छलफल गर्नुपर्ने भएकाले बैठक १० दिन पछि सार्न माग गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले गत आइतवारबाट उमेर हदका कारण अवकास पाएका छन् ।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषदले यसअघि पनि विपक्षीलाई बेवास्ता गर्दै प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, थारु आयोग र मधेशी आयोगका अध्यक्ष सिफारिश गरेको थियो ।
यसको विरोधमा कांग्रेसका सांसदले ती पदाधिकारीको संसदीय सुनुवाईको बैठक नै बहिष्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्