
काठमाडौं, कात्तिक १७ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बुधबार हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ ।
उच्चस्तरीय सो भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितकाबारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिनअघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत् बनाएको विचार व्यक्त गरेको मन्त्री डा. महतले बताए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लैजान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाएका थिए ।
साथै, उनले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नुपर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराएका थिए ।
भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा. सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास वैरागी थिए भने भारतका तर्फबाट उच्चअधिकारीहरु सहभागी थिए । रासस
प्रतिक्रिया दिनुहोस्