
काठमाडौं, कात्तिक १८ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा विजयी हुँदै जर्मन क्लब बोरुसिया डर्टमण्ड नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलमा डर्टमण्डले पोर्चुगलको स्पोर्टिङलाई १–० ले हराउँदै दुई खेल खेल्न बाँकी छँदै अन्तिम १६ मा उक्लिएको हो ।
यही समुहको अर्को खेलमा स्पेनको रियाल मड्रिडले पोल्याण्डको लेजिया वार्ससँग ३–३ गोलको बराबरी खेलेको छ ।
गएराति भएका खेलमा इङ्लिस क्लबहरुले भने खराब प्रदर्शन गरेका छन् । टोटनह्याम हट्सपरलाई उसैको मैदानमा जर्मनीको बायर लिभरकुजेनले १–० ले पराजित गर्दा लेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी फ्रान्सको मोनाकोले रुसको सिएसकेए मस्कोलाई ३–० ले हराउँदा पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई १–० ले पराजित गरेको छ ।
समुह एचका खेलहरुमा ईटालीको युभेन्टसले फ्रान्सको लियोसँग १–१ गोलको बराबरी खेल्दा स्पेनको सेभियाले क्रोएसियाको डाईनामो जाग्रबेलाई ४–० ले पाखा लगायो ।
प्रतिक्रिया दिनुहोस्