
वासिंटन, कात्तिक १८ । अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएका छन् । ट्रम्प देशका लागिमात्र नभई पूरै विश्वका लागि खतरा भएको भन्दै राष्ट्रपति ओबामाले उनीविरुद्ध आक्रोस पोखेका हुन् ।
निर्वाचनका लागि निकै अस्थिर मानिएको उत्तर क्यारोलाइना राज्यमा डेमोक्र्याट्रिक पार्टीको प्रचार अभियानमा सहभागी ओबामाले अल्पसंख्यकप्रति कठोर ट्रम्प अमेरिकी सेनाको कमाण्डर इन चीफ बन्न लायक पनि नरहेको जिकिर गरे ।
आसन्न निर्वाचनमा हिलारी क्लिन्टन पराजित भएमा पछिल्लो आठ वर्षमा अमेरिकाले गरेको सबै प्रगति उल्टने दाबी ओबामाको छ । त्यतिमात्र होइन, राष्ट्रपति ओबामाले एफबीआईले क्लिन्टनको इमेलको जाँच फेरि शुरु गरेकोमा पनि असन्तुष्टि जनाए । क्लिन्टन निर्दोष रहेकामा आफूलाई कुनै शंका नरहेको भन्दै उनले जाँचकर्ताले पूर्ण तथ्यका आधारमा मात्र अनुसन्धान गर्नुपर्ने बताए ।
उता ट्रम्पले भने आगामी हप्ता हुने निर्वाचनमा हिलारी क्लिन्टनले जितेमा अमेरिकाले संवैधानिक संकटको सामना गर्नुपर्ने बताएका छन् । हिलारीले जितेमा उनीमाथि आपराधिक आरोप लाग्न सक्ने ट्रम्पको तर्क छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्