२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


भारतीय राष्ट्रपतिको स्वागतका लागि पोखरामा यस्तो छ तयारी (भिडियो)


0
Shares

पोखरा, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ ।

मुखर्जीको स्वागत तथा सत्कारका लागि पोखरा विमानस्थलदेखि बिरौटास्थित होटल ग्राण्डसम्म र त्यहाँदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म थुप्रै स्वागतद्वार निर्माण गरिएको छ ।

शुक्रबार जनकपुर हुँदै मुखर्जी बुद्ध एअरको विमानबाट दिउँसो पौने १ बजे पोखरा पुग्ने कार्यक्रम छ । मुखर्जीको भ्रमणालाई लिएर अहिले पोखराका सडकहरुको मर्मत गरिनुका साथै नेपाल र भारतका झण्डा फहराईएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भारतीय राष्ट्रपतिको पोखरा भ्रमणका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए ।

मुखर्जीको भ्रमणका बेला सडकका विभिन्न ठाउँमा नेपाली संस्कृति झल्किने विभिन्न भेषभूषामा सजिएका समूहहरुले स्वागत गर्ने तयारी भईरहेको छ । मुखर्जीको सुरक्षाका लागि सहरका विभिन्न ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १४ सय बढी सुरक्षाकर्मी परिचालित हुनेछन् ।

मुखर्जी पोखरामा रहुन्जेल अन्य स्थानमा पनि सुरक्षा निगरानी बढाउने र नगरका अन्य क्षेत्रमा सुरक्षाकर्मी परिचालित हुने अधिकारीहरुले बताएका छन् ।

पोखरामा ३ घण्टा रहँदा मुखर्जीले होटल ग्राण्डमा दिवाभोज गर्नेछन् भने त्यहाँबाट बिरौटा, पृथ्वीचोक, बुद्धचोक हुँदै रामबजारस्थित पेन्सन क्याम्पमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पेन्सन क्याम्पमा हुने कार्यक्रमका लागि १० हजार भारतीय भूपू सैनिकलाई निम्ता गरिएको र सोही अनुसारको व्यवस्थापन मिलाइएको बुझिएको छ ।

मुखर्जी शुक्रबार अपरान्ह ४ बजे काठमाडौं फर्कनेछन् ।