३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


भारतीय राष्ट्रपति मुखर्जी पोखरा पुगे


0
Shares

पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर हुँदै बुद्ध एअरको विमानबाट शुक्रबार दिउँसो पोखरा पुगेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास अधिकारी हितराज पाण्डेले विमानस्थलमा राष्ट्रपति मुखर्जीको स्वागत् गरे ।

विमानबाट पोखरा विमानस्थल ओर्लिएपछि राष्ट्रपति मुखर्जी होटल ग्रान्डमा लन्च र आरामका लागि पुगेका छन् ।

मुखर्जी विमानस्थलदेखि होटल ग्रान्ड जानेक्रममा विभिन्न टोल सुधार समितिहरुले आ–आफ्नो भेषभूषासहित स्वागत् र सत्कार गरेका थिए ।

होटल ग्रान्डमा लन्चसँगै राष्ट्रपति मुखर्जी रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा जाने कार्यक्रम छ ।

त्यहाँ सहभागी हुने करिब १० हजार भूपूभारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ पुग्दा बाटोमा नेपालको पहिचान झल्किने विभिन्न जातजातिका भेषभूषा र झाँकीहरुले स्वागत् गर्ने कार्यक्रम छ । हाल नेपालमा १ लाख २५ हजारजना भूपूसैनिक छन् ।

पोखरा क्याम्पबाट पेन्सन बुझ्नेको संख्या ६५ हजार रहेको पेन्सन क्याम्प रामबजारले जनाएको छ ।

करिब एक हजार पाँच सय सुरक्षाकर्मी मुखर्जीको पोखरा भ्रमणको सुरक्षाका लागि खटिएका छन् ।

रामबजारमा हुने कार्यक्रममा दुबै देशका राष्ट्रियगान प्रस्तुत् गरिनेछ भने सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिनेछ ।

मुखर्जी पोखरा आएसँगै उनी सवार हुने सडक रुट सर्वसाधारणका लागि बन्द गरिएको छ । त्यसका लागि वैकल्पिकमार्ग प्रयोग गर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

यस्तै, पोखरा भ्रमणलाई मध्यनगर गरी शुक्रबार पोखरामा पाराग्लाइडिङ उडानमा रोक लगाइएको छ ।