३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


जनकपुरका लागि गृहमन्त्री निधिले भारतसँग सहयोग मागे


0
Shares

जनकपुरधाम, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा शुक्रबार नागरिक अभिनन्दन गरिएको छ ।

राष्ट्रपति मुखर्जीलाई जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो ।

राष्ट्रपति मुखर्जीले अभिनन्दन ग्रहण गर्दै प्राचीन नगरी जनकपुरमा पाएको स्वागत्–सत्कारले आफू द्रविभूत भएको बताए ।

उनले देवी सीता र राजा जनकको जन्मभूमि जनकपुर भारतका लागि आदरणीय तथा संस्कृति, ज्ञान, अन्वेषणका लागि प्रोत्साहन गरिरहेको प्रसंग उल्लेख गरे ।

जनकपुर संसारका विद्वानको ज्ञानभूमि भएको चर्चा गर्दे राष्ट्रपति मुखर्जीले ‘हिन्दू, बौद्ध, जैन र महावीरधर्मका लागि उर्वर संगमस्थल जनकपुर साझा संस्कृतिको उहाहरण रहेको छ’–भने ।

राष्ट्रपति मुखर्जीले ऋग्वेदको महत्वपूर्ण खोज पनि जनकपुरमा भएको छ भन्दै साझा परम्परा, समृद्धि र विरासतलाई उचाइमा पुर्‍याउनुपर्ने धारणा राखे ।

उनले भारत सरकारद्वारा जनकपुरको परिक्रमापथमा दुईओटा धर्मशालाको निर्माण, जनकपुरको विकास, वीरगन्ज र विराटनगर प्रवेशमार्गमा आधुनिक जाँचपोस्टको निर्माण तथा पर्यटन विकास कार्ययोजनाबारे जानकारी गराउँदै यसले नेपालको व्यापार र पर्यटन क्षेत्रको विकासमा सहायकसिद्ध हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति मुखर्जीले पूर्वज विरासतको रक्षा, प्रेम, सद्भाव, भगिनी सम्बन्ध तथा जनता र सरकारको सम्बन्धलाई परस्पर बलियो र विस्तारको प्रतिबद्धतामा पनि जोड दिए ।

उनँले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको जीवन–दर्शनले आफू प्रभावित रहेको पनि बताए ।

सो अवसरमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति मुखर्जीलाई स्वागत् गर्दै जनकपुरको पर्यटकीय प्रवद्र्धनमा भारत सरकारको सहयोगको आग्रह गरे ।

उनले जनकपुरमा भारतीय सरकारद्वारा सन्चालित योजनालगायत बहुआयामिक विकासतर्फ राष्ट्रपति मुखर्जीलाई ध्यानाकर्षण गराए ।

भारत र जनकपुरबासीको हृदय र मानसपटलमा अगाध स्नेहको सम्बन्ध रहेको चर्चा गर्दे उपप्रधानमन्त्री निधिले जनकपुरलाई पर्यटकीय सूचीमा सूचीकृत गरिएमा शीघ्र उपलब्धि हासिल हुनसक्ने बताए ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले राष्ट्रपति मुखर्जीलाई अभिनन्दन र नगरको साँचो प्रदान गर्दै विज्ञान प्रविधि, उद्योग व्यवसाय, ज्ञान विज्ञान तथा सांस्कृतिक, आध्यात्मिक र पर्यटन केन्द्रका दृष्टिले जनकपुरको विकासमा भारत सरकारको सहयोगको आशा गरे ।

सो अवसरमा राष्ट्रपति मुखर्जीले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग जनकपुरबारे जिज्ञासा र जानकारी पनि लिएका थिए ।

समारोहमा राष्ट्रपति मुखर्जीको सम्मानमा मिथिला नाट्यकला परिषद्का कलाकारले ‘इएह छी हमर’ जनकपुर नामक गीतको स्वागत् नृत्य प्रस्तुत् गरेका थिए ।

राष्ट्रपति मुखर्जीलाई वृहत्तर जनकपुर विकास परिषद् र जनकपुर उद्योग वाणिज्य संघबाट जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरिएको थियो ।

यसअघि, राष्ट्रपति मुखर्जी तिरहुतिया गाछी आइपुग्दा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, पर्यटनमन्त्री जीवनबहादुर शाही, सांसद, पूर्वसांसद र राजनीतिक दलका प्रतिनिधिले स्वागत् गरेका थिए । रासस