फाइल फोटो
काठमाडौं, कात्तिक १९ । भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार वितरण गर्न काठमाडौं उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ ।
काठमाडौंका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा, कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिकाका पूरै र कामपाका दुई वडामा अनुदान सम्झौता सुरु भएको स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताए ।
बाँकी ६ नगरपालिकामा सोमबारदेखि अनुदान सम्झौता सुरु हुने जनाइएको छ ।
‘काठमाडौंमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार १०२ लाभग्राहीको सूची स्वीकृत गरेको छ, उनीहरुसँग सम्झौता गर्न मन्त्रालयबाट २० हजारमात्र फाराम प्राप्त भएकाले समस्या परेको छ’–उनले भने ।
ललितपुरमा वज्रबाराही, महालक्ष्मी र कार्यविनायक नगरपालिका एवं ललितपुर उपमहानगरपालिकाबाट अनुदान सम्झौता सुरु भएको छ ।
उपमहानगरपालिकासहित पाँच नगरपालिका र १९ गाविस रहेको ललितपुरका ग्रामीण भेगमा भने छठपछिमात्र अनुदान सम्झौता सुरु हुने जिविसका तर्फबाट भूकम्पसम्बन्धी काम गर्न तोकिएका सम्पर्क अधिकृत सरिता महर्जनले जानकारी दिइन् ।
ललितपुरमा सूचीमा परेका लाभग्राहीको सूचना नगरपालिकाका वडा कार्यालय एवं गाविस कार्यालयमा टाँस गरी जानकारी गराउने र सूचीमा नपर्नेको गुनासो दर्ता गर्ने काम पनि सुरु भएको छ ।
भक्तपुर नगरपालिकाका सबै वडामा लाभग्राहीको सूची सार्वजनिक गरी अनुदान सम्झौताको तयारी गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए ।
प्राधिकरणले उपत्यकामा ९० हजार ८८८ पीडितलाई अनुदान पाउने सूचीमा समावेश गरेको बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्