२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


बार निर्वाचन सम्पन्न, १९ गतेदेखि मतगणना


0
Shares

काठमाडौं, चैत १६ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।

२५औं केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो ।

बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेसागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।

अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् ।

शनिबार भएको निर्वाचनले तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

प्रमुख निर्वाचन अधिकृत खड्काकाअनुसार सर्वोच्च अदालतमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ ।

उनकाअनुसार सर्वोच्च बारमा ६४४, उच्च बारमा एक हजार ६८८, काठमाडौंमा एक हजार ५८०, ललितपुर बारमा ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेका छन् ।

देशभरिबाट मतपेटिका संकलन गरेपछि यही चैत १९ गतेबाट काठमाडौंमा मतगणना हुने उनले जानकारी दिए ।

देशभर बारका १० हजार ३१३ मतदाता थिए । रासस