
वीरगन्ज/परासी, कात्तिक २० । छठ पर्वको आज(शनिबार) दोस्रो दिन खरना गरेर मनाईदै छ ।
खरनाका दिन बेलुकी गाईको गोबरले लिपपोत गरी माटाको नयाँ र चोखो चुल्होमा आपको दाउराबाट अगहनीको चामलमा भेली हालेर तयार गरिएको रसियाव र चोखो पारिएको पिठोको रोटी पकाइन्छ ।
दिनभरी निराहार र निर्जला बसेका ब्रतालु राती चन्द्रमा उदाएपछि ‘रसियाव रोटी’लाई पूजा गरी अग्नी तथा गाईलाई अग्रासन अर्थात पहिलो अंश दिएपछि आफूले खाने चलन छ ।
यसलाई प्रसादको रूपमा घरपरिवारकाले खाने र छठ पूजाका ब्रतालु नभएका परिवारलाई बाँड्ने समेत गरिन्छ ।
तराईको महत्वपूर्ण चार दिने छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ ।
त्यस्तै नवलपरासीका विभिन्न स्थानमा छठ पूजाका लागि तयारी सुरु गरिएको छ । जिल्ला सदरमुकाम परासीसहित त्रिवेणी, उनवच र नवलपुर क्षेत्रमा छठको मेलासहित पुजाआजा गरिँदै आएको छ ।
पूजाका लागि नदी र तालमा रहेका घाटको सरसफाईसहित व्यवस्थापका लागि स्थानीयसँगै सुरक्षाकर्मीहरु खटिएका छन् ।
पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व अहिले परासी क्षेत्रका पहाडी समुदायलगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको स्थानीयले भनाइ छ ।
छठ पर्व आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिई सोमबार उदाउँदो सूर्यलाई पूजा गरेपछि समापन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्