३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


पाँचथरमा आठ स्थानीय तह रहने दुई खाका प्रस्ताव


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

पाँचथर, कात्तिक २१ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्ला स्थित राजनीतिक दलहरुले पाँचथरमा जिल्लामा ८ ओटा स्थानीय तह रहनेगरी भिन्ना–भिन्नै दुई खाका स्थानीय तह पुनर्संरचना आयोगमा पठाउने सहमति गरेका छन् ।

विहीवारबाट सुरु भएको समिति र दलहरुको छलफल शनिवार साँझ सकिएको छ । र, छलफलबाट ८ ओटा स्थानीय तह रहेका दुई खाका आयोगमा पठाउने निर्णय भएको छ । दलहरुवीच सहमति हुन नसक्दा दुई खाका आयोगमा पठाइएको हो ।

मूख्य दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)वीच गाँउपालिकाको सीमाका बिषयमा बिषयमा सहमति नजुट्दा दुई खाका तयार भएको नेताहरुले वताए । यद्यपी ८ स्थानीय तह निर्माणका बिषयमा भने नेताहरु शुक्रवारै सहमत भएका थिए ।

पुनर्संरचनाको प्रस्तावित खाका नं. १ मा २ नगरपालिका र ६ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । जहाँ ३३३१९ जनसंख्या रहेको फिदिम नगरपालिका र ४०१७८ जनसंख्या रहेको फाल्गुनन्द नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ ।

फिदिम नगरपालिकामा साविकको नगरपालिका, उत्तरको रानीटार गाविसका ९ ओटा वडा र दक्षिणको लुम्फाबुङ गाविसलाई समेट्ने प्रस्ताव गरिएको छ । फिदिम बजार केन्द्र रहेको उक्त नगरपालिकामा हालको फिदिम नगरपालिकाभित्र ६, रानीटारमा २ तथा लुम्फाबुङमा १ वडा रहने प्रस्ताव गरिएको छ ।

यस्तै प्रस्तावित फाल्गुनन्द नगरपालिकामा साविकका नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप, आङसराङ, यासोक, माङ्जाबुङ, रानीगाँउ र स्यावरुम्बालाई वडाको रुपमा राख्ने प्रस्ताव गरिएको । जसको केन्द्र यासोक बजारलाई प्रस्ताव गरिएको छ ।

उक्त खाका अनुसार उत्तरका च्याङथापू, फलैँचा, ओयाम, थर्पू र नागी गाविसलाई याङवरक गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । ६ वडा प्रस्ताव गरिएको उक्त गाँउपालिकाको केन्द्र थर्पू बजाररमान्द्रेनीलाई प्रस्ताव गरिएको छ । जसको जनसंख्या १८२८१ रहेको छ ।

यस्तै अमरपुर, पञ्चमी, सुभाङ र भारपालाई मिलाई हिलिहाङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । २२९१३ जनसंख्या रहेको उक्त प्रस्तावित गाँउपालिकाको केन्द्र गोपेटार बजार रहने प्रस्ताव गरिएको छ भने उक्त गाँउपालिकामा ७ वडा रहनेछन् ।

यस्तै एकतीन, मेमेङ, प्राङबुङ र सिदिनलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ जसको केन्द्र मच्छेबुङ मेमेङमा राख्ने प्रस्ताव गरिएको छ । १८ हजार ९सय ३ जनसंख्या रहेको उक्त गाँउपालिकामा ७ वडा रहने प्रस्ताव गरिएको छ ।

यस्तै याङनाम, नांगीन, लुङरुपा र रानीटारको वडा नं. ९ रहेको १८हजार ८सय ६३ जनसंख्या रहेको छिन्तापु गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । नांगीनको डेरीबजार केन्द्र प्रस्ताव गरिएको उक्त गाँउपालिकामा ६ वडा रहनेछन् ।

यस्तै दक्षिणको आङ्ना, मौवा, वलने र हाङ्गुम गाविसलाई मिलाई तुम्बेवा विशेष गाँउपालिकाको प्रस्ताव गरिएको छ । १३ हजार ४ सय १९ जनसंख्या रहेको, ५ वडा रहेको उक्त गाउँपालिकाको केन्द्र मौवा बजारलाई प्रस्ताव गरिएको छ ।

यस्तै सुदुर दक्षिणी सराङडाँडा, आरुबोटे, रबी, कुरुम्बा, लिम्बा र दुर्दिम्बा रहेको मिक्लाजोङ गाँउपालिकाको प्रस्ताव गरिएको छ । २४ हजार ७ सय १५ जनसंख्या रहेको उक्त गाँउपालिकामा ८ वडा रहने र केन्द्र रवी बजार रहने प्रस्ताव गरिएको छ ।

यस्तै जिल्लाको पुनर्संरचनाको प्रस्तावित खाका नंंं. २ मा १ नगरपालिका र ७ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । दलहरुवीच पहिलो खाकामा सहमति नहुँदा दोश्रो खाका समेत तयार गरी आयोगमा पठाइएको छ ।

प्रस्तावित खाका नंं. २ मा साविकको फिदिम नगरपालिका, रानीटार गाविस, लुम्फाबुङ गाविस, याङनाम गाविसको वडा नं. १ देखि ५ सम्म, नांगीन गाविस र लुङरुपा गाविसलाई मिलाई फिदिम नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ । ४९ हजार २सय १ जनसंख्या रहेको प्रस्तावित फिदिम नगरपालिकामा १४ वडा रहनेछन् ।

हालको फिदिम नपामा ६, रानीटामा २, लुम्फाबुङमा १, याङनामका ५ वडाको १, नांगीनमा २, लुङरुपा र रानीटारको वडा नंं. ९ गरी २ वडा रहने उक्त नगरपालिकाको केन्द्र फिदिम बजारलाई नै प्रस्ताव गरिएको छ ।

यस्तै खाका नंं. २ मा खाका नं. १ मा जस्तै समान जनसंख्या, केन्द्र र वडा रहेका याङवरक र हिलिहाङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । जहाँ क्रमश ६ र ७ वडा छन् ।

यस्तै उत्तरमा एकतीन, मेमेङ, प्राङबुङ, सिदिन र याङनामको वडा नंं ६ देखि ९ लाई मिलाई फालेलुङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । मच्छेबुङ केन्द्र रहने उक्त गाँउपालिकामा ८ वडा रहेका छन् । जहाँ २१८८४ जनसंख्या रहेको छ ।

खाका नंं. २ जिल्लाको दक्षिणी क्षेत्रलाई ४ गाँउपालिकामा विभाजित गर्ने प्रस्ताव गरिएको छ । जसमध्येको कुम्मायक र तुम्बेवा गाँउपालिकालाई विशेष क्षेत्र मान्ने प्रस्ताव गरिएको छ ।

जसअनुसार नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप र आङसराङ गाविसलाई मिलाई फाल्गुनन्द गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । घुर्विसेपञ्चमी केन्द्र प्रस्ताव गरिएको उक्त गाँउपालिकामा ७ वडा रहनेछन् भने जनसंख्या २४०६० रहेको छ ।

यस्तै यासोक, माङ्जाबुङ, रानीगाँउ र स्याबरुम्बालाई सुख्खाग्रस्त भएकाले विशेष क्षेत्र मानी कुम्मायक विशेष गाँउपालिकाको प्रस्ताव गरिएको छ । ५ वडा रहने उक्त गाँउपालिकाको केन्द्र यासोक बजार रहनेछ ।

यस्तै आङ्ना, मौवा, वलने र हाङगुम समेत सुख्खाग्रस्त रहेकाले ती गाविसलाई मिलाई तुम्बेवा विशेष गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । १३४१९ जनसंख्या रहेको उक्त गाँउपालिकाको केन्द्र मौवा बजार रहनेछ र ५ वडा प्रस्ताव गरिएको छ ।

यस्तै सुदुर दक्षिणी सराङडाँडा, आरुबोटे, रवी, कुरुम्बा, लिम्बा र दुर्दिम्बालाई मिलाई मिक्लाजोङ गाँउपालिकाको प्रस्ताव गरिएको छ । २४७१५ जनसंख्या रहेको उक्त गाँउपालिकाको केन्द्र रवी बजारलाई प्रस्ताव गरिएको छ भने उक्त गाँउपालिकामा ८ वडा रहने प्रस्ताव गरिएको छ ।