३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


विद्युतीय रिक्साका कारण पुरानो तीनपाङ्ग्रे विस्थापित, मजदुर मारमा(भिडियो)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, कात्तिक २१ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरलगायत स्थानीय बजारमा बर्षौंदेखि फस्टाएको परम्परागत तीनपाङ्ग्रे रिक्सा विस्थापित हुने अवस्थामा पुगेको छ ।

पछिल्लो समय विद्युतीय रिक्साप्रति यात्रुको आकर्षण बढेसँगै परम्परागत रिक्सा बन्द हुने अवस्थामा पुगेका हुन् ।

विगत लामो समयदेखि छोटो दूरीका लागी परम्परागत रिक्सालाई सर्वसाधारणले प्रयोग गर्दै आएका थिए ।

तर कञ्चनपुरमा पछिल्लो समय विद्युतीय रिक्सा बजारमा आएसँगै परम्परागत रिक्साको प्रयोग घट्दै गएको छ ।

योसँगै दैनिक रिक्सा चलाएर हुने कमाइले जीविकोपार्जन गर्दै आएका विपन्न समुदायका मजदुर भने समस्यामा परेका छन् ।

पछिल्लो पटक बजार क्षेत्रमा विद्युतीय अटो रिक्सा सेवा सुरु गरिएपछि परम्परागत रिक्सा विस्थापन हुने अवस्थामा पुगेका हुन् ।

रिक्सामा चढ्ने यात्रु नपाउंदा व्यवसाय विस्थापन हुने अवस्थामा पुगेकाले जीविका चलाउन नै समस्या भएको दुःखेसो रिक्सा चालकको छ ।

महेन्द्रनगर बजारमा एक हजारभन्दा बढीको संख्यामा रहेका तीनपांग्रे रिक्सा विद्युतीय अटोरिक्सा सेवा सुरु भएपछि अहिले करिब डेढ सयमा सिमित भएका छन् ।

यी रिक्सालाईसमेत यात्रु पाउन कठिन छ । तर, विद्युतीय रिक्सा सञ्चालनमा आउन थालेपछि यात्रुहरु भने दंग छन् ।

तीन वर्षयता भिमदत्तनगर नगरपालिका क्षेत्र, पश्चिमी सिमा नाका गड्डाचैकी तथा अन्य बजार क्षेत्रमा एक हजारभन्दा बढी इ–रिक्सा सञ्चालित छन् ।

यस्ता रिक्सा थपिने क्रम जारी छ । तर, विद्युतीय अटो रिक्सा किन्ने क्षमता नभएका र परम्परागत रिक्सा चलाउँदै आएकाहरुलाई भने गुजारा गर्नै समस्या भएको छ ।

यातायात व्यवसायमा देखिएको प्रतिस्पर्धाले सर्वसाधारणलाई आवागमनमा सहज भए पनि विपन्न समुदायका रिक्सा मजदुर भने यसको प्रत्यक्ष मारमा परेका छन् ।

सरकारले आर्थिक अवस्था कमजोर भएका परम्परागत रिक्सा चालकका समस्यालाई समाधान गर्न कुनै विकल्प खोज्नेतर्फ ध्यान दिनु जरुरी छ ।