
काठमाडौं, कात्तिक २१ । राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लाहरुमा धुमधामसाथ छठ पर्व मनाईदै छ । छठको तेस्रो तथा मूख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिने गरिन्छ ।
काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनहरुले अस्ताउँदो सूर्यको पूजा गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि छठ पूजाका लागि कमलपोखरी पुगेका थिए ।
उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएका छन् ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम उत्तिकै छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदै छ । परासीसँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन पुगेका छन् ।
यस्तै झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजनहरु भेला भएका छन् । सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ ।
कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका छन् ।
यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाईरहेका छन् । भित्री मधेशमा पर्ने सदरमुकाम सिन्धुलीमाडीको स्थानीय गौमती नदीको किनारमा मधेशी र पहाडिया समुदायले मिलेर सजिया घाट निर्माण गरी छठ पूजा गरिरहेका हुन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्