
काठमाडौं, कात्तिक २२ । एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ ।
नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र एक महिला खेलाडीले भाग लिने छन् ।
पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन् । प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउने छिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ ।
प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ । स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी कमलाको व्यक्तिगत उच्च प्रदर्शन हो ।
३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ ।
टिम प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलन प्रमुख प्रशिक्षक सुनीललाल जोशी तथा व्यवस्थापकमा सञ्जय महर्जन छन् ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसँगै टोकियो जाँदैछन् ।
टोलीलाई नेपाल भारोत्तोलन संघका पदाधिकारीलगायतले एक कार्यक्रमबीच सातदोबाटोमा आइतबार बिदाइ गरे ।
प्रतिक्रिया दिनुहोस्