३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बाँदर र दुम्सीका कारण दुई परिवार गाउँबाटै बिस्थापित


0
Shares

म्याग्दी, कात्तिक २२ । म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् ।

जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य भएको सूर्य किसानले बताए ।

बाली जोगाउन लरेनीवासीले रातको समयमा लौरो, टर्चलाइट, आगोसहित घरेलु हतियार लिएर खेतबारीको छेउमा रात बिताउने गरे पनि नियन्त्रण गर्न नसकेपछि गाउँ नै छोड्नु परेको हरि किसानले बताए ।

‘अहिलेसम्म प्रयोग गरिएका सबै घरेलु उपाय असफल भए । हामीले पनि गाउँ छोड्ने निर्णय गरिसकेका छौँ,’ चार घर परिवार बसोबास गर्ने उक्त गाउँका दले चर्माकारले भने ।

चर्मकारका अनुसार बाँदर र दुम्सीलाई रोक्न खोज्दा ज्यानकै जोखिम भएकाले बालबालिका र महिलाका लागि समेत घर छोड्नुपर्ने अवस्था आएको हो । खेतबारीमा लगाएको अन्नमध्ये करिब २० प्रतिशत मुस्किलले भित्र्याउनुपर्ने अवस्थामा दैनिक गुजारा चलाउन समेत समस्या भएको लरेनीवासीको भनाइ छ ।

मकै, कोदो, आलु, तरकारी, गहुँलगायतका अन्नबाली जोगाउन नसक्दा सधैँ छिमेकी गाउँबाट खरिद गरेर खाने गरेको गाउँलेले बताए । चार घरधुरी रहेको बस्तीबाट खेतबारीसँगै घरमा राखिएको अन्नबाली समेत जोगाउन मुस्किल भएपछि स्थानीयवासीले गाविस सचिव शिवप्रसाद शर्मालाई समेत जङ्गली जनावरबाट भएको क्षति रोक्न आवश्यक सहयोग मागेका थिए ।

‘उहाँहरूको समस्या समाधान गर्न मुस्किल छ । गाउँमा पुग्नेबाटो नै जोखिमपूर्ण छ, तत्काल वैकल्पिक स्थानमा सर्न अनुरोध गरेको छु,’ सचिव शर्माले भने । (रासस)