Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सडक स्तरोन्नतीमा भ्रष्टाचार भएको भन्दै इलाममा नाराबाजी


0
Shares

काठमाडौं, कात्तिक २२ । उन्नती समावेशि परियोजना अन्तर्गत इलाम जिल्लाको पूर्वी क्षेत्रको फिक्कल–गुप्ति–नयाँबजार सडक स्तरोन्नतीको ठेक्का प्रक्रियामा आर्थिक चलखेल गरी कालोसूचीमा परेको नार्गाजुन निर्माण कम्पनीलाई ठेक्काका नाममा आसय पत्र निकालेको भन्दै भष्टाचार विरुद्ध तरुण सरोकार समुह इलामले छानविनको माग गरेको छ ।

डेनिस सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजनाको पुर्वाधार निर्माण तर्फको बजेटबाट बन्न लागेको सो सडकमा जिल्ला बिकास समिति इलाम अन्तर्गतको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गानाको संयोजकत्वमा तत्कालीन स्थानीय विकास अधिकारी मदन कोइराला, इञ्जीनियर हुतराज चौहानले करोडौं आर्थिक चलखेल गरेर सो कम्पनीलाई ठेक्का दिएको भन्दै सो समुहले जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापन पत्र बुझाएको हो ।

समुहले बुझाएको ज्ञापन पत्रमा“चार महिना अघि रितपूर्वक परेको ठेक्का स्विकृतीमा नियतबस ढिलाई गरी अनावश्यक जालझेल रची रातारात कालो सूचीमा परेको नार्गाजुन कम्पनीलाई एक्कासी ठेक्काको आसयपत्र जारी गरी जिल्ला प्राबिधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गाना, स्थानीय विकास अधिकारी मदन कोइराला, इञ्जीनियर हुतराज चौहान फरार भएको बुझिएको छ ।”

समुहले लेखेको छ “ठेक्काको नियम अनुसार जुन निर्माण सेवाले न्युनतम दरमा बोलकबोल पत्र पेश गर्दछ त्यसैले ठेक्का पाउनु पर्दछ । तर, यस पटक करोडौ रुपयाँ लेनदेन गरी दोस्रो नम्बरमा रहेको कम्पनीलाई ठेक्काको आसयपत्र निकाल्नुले आर्थिक चलखेललाई पुष्टी गर्दछ ।”

समुहले रकम पचाउन तिहारको विदा हुनुभन्दा एक दिन अघि आसयपत्र निकालेर गजुरमुखी निर्माण कम्पनीलाई उजुर गर्ने समय समेत नदिएर आरोप लगाएको छ ।

समुहले सातदिन भित्र छानविन गरी कारवाहि गर्न समेत माग गरेको छ । समुहले आग्रहलाई वेवास्था गरे उपल्लो निकायसम्म दवाव सिर्जना गर्ने कार्यक्रम ल्याउने समेत जनाएको छ ।

यस अघि समुहले प्राविधिक कार्यालयमा एक घण्टा धर्ना दिएको थियो । सडक क्षेत्रकाप्रभावित क्षेत्रका स्थानीयले प्राविधिक कार्यालयलाई भ्रष्टाचारका अखडा नबनाउन माग गर्दै चर्को नाराबाजी गरेका थिए ।