
-संजिव कार्की
प्रिय दिज्यू सुजाता,
जय नेपाल !
सर्वप्रथम यहाँको स्वास्थ्यमा समस्या देखिएको, स्वास्थ्य समस्या पनि सामान्य नभई प्राण घातक रोग क्यान्सर नै हो भन्ने आशंकाले मनमा ठुलो डर र दिदीको मायाले द्रवित भएको छु । सबै शंका सत्य हुन्छन नै भन्ने छैन । यहाँलाई लागेको भनिएको रोग पनि मिथ्या र असत्य साबित होस् । एउटी चेली अनि देशकै उपप्रधानमन्त्री भै सकेको र ठूलो पार्टी नेपाली कांग्रेस पार्टीकी सर्वशक्तिमान महिला नेत्री अनि बीर गिरिजाबाबुकी प्रिय छोरीलाई लागेको भनिएको यो रोगको खबरले देश नै स्तब्ध छ । मलाई पनि पीडाको त्यो अनुभूतिले च्वास मुटुमा नै घोचेर यो पत्र सहित दिदीको यथाशीघ्र स्वास्थ्य लाभ र आरोग्यताको लागि भगवानलाई बलपुकारा गर्दछु ।
प्रिय दिदी ,
कोइरालाहरुको बंशानुगत, भयाबह रोग अझ सुसंस्कृत भाषामा भन्दा खान्दानी रोग क्यान्सरसंग जुध्ने र धैर्य धारण गर्ने शक्ति यहाँलाई मिलोस । यहाँसंग भएको खान्दानी दह्रो र दृढ निश्चयी आत्मवलले क्यान्सर पराजित हुनेछ,हुनुपर्छ भन्ने मेरो विस्वास छ । ज्यानमारा रोग लागे पछि डर त् सबैलाई लाग्छ नै मृत्युसंग नडराउने त् आत्महत्या गर्नेहरु मात्र हुन् अरु सब जीवित जीवात्मा मृत्यु देखि थुर्थुरी हुन्छन । किनकी मृत्युले राजा,महाराजा ,धनि,गरिब कसैलाई पनि भेद गर्दैन । तसर्थ मान्छेहरु मृत्युसंग गुनासो गर्न सक्छन तर केहि गर्न सक्तैनन् । क्यान्सरको आशंका पछि तपाईलाई पनि छटपटी पीडा,दर्द अनि दु;ख लाग्नु मानवीय गुण हो । यसलाई सुजाता डराई, सुजाता आत्तिई भन्नु बेबकुफी हो । तपाइको पनि सबै मान्छेको जस्तै हाड, छाला ,मुटु ,गिदी, कलेजोले बनेको शरीर हो । मानवोचित प्रतिक्रियालाई अनौठो ठान्नु हुन्न ।
प्रिय सुजाता दिदी ,
रोग संसारमा सबैलाई लाग्छ , धेरै नेपालीहरु पनि यो र यस्तै रोगबाट पिडित थुप्रै छन , कतिले अस्पतालको मुख सम्म देख्न नपाई मृत्यु बरण गर्छन, कति अस्पताल सम्म पुग्छन ,घरखेत सबै सक्छन । अनि मृत्युको प्रिय बन्छन कति बिदेस तिर पनि गएर उपचार गर्न सक्छन र गर्छन । अझ कति धेरै नेपाली नेताहरु ,राजनीति कर्मी र बिशिस्ट व्यक्तिहरुको औषधिमुलो राज्य कोषबाट विदेश लगेर गरिदिनु परेको गरेको उदाहरण यहाँलाई मैले भन्नु परोइन देशको बिशिस्ट व्यक्ति , कोइराला खान्दानको उत्ताराधिकारी अझ भनौ देशलाई अति नै माया गर्ने मान्छे (जसले आफ्नो पति जर्मन नागरिक जोस्ट भिनाजु लाई समेत छोडेर नेपालको सेवामा तल्लिन हुनुहुन्छ ) तपाई प्रति पनि यो देशको जिम्वेवारी हुन्छ,हुनुपर्छ ।
आफ्ना पिता गिरिजाप्रसाद को उपचार राज्यले गर्न सक्ने , शुशीलदाको उपचार राज्यले गर्न सक्ने पुर्व रास्ट्रपति रामबरण को उपचार राज्यकोष बाट हुन् सम्भव हुने , पुर्व प्रधानमन्त्री के पी ले राज्यबाट औसधोपचार को लागि खर्च लिन हुने तपाईले किन नहुने रु राज्यले आफ्ना देशका नेताहरु पूर्व विशिष्ट अनि विशिष्टहरुको लागि गरेको खर्च अनि त्यसको हिसाब किताब गर्ने हो भने कयौ अत्याधुनिक अस्पताल बन्ने र आम नेपालीले त्याँहा बाट उपचार पाउन सक्ने बातावरण बन्ने कुरामा कसैको पनि दुईमत नहोला ! सबैका लागि राज्य , राज्य सबैका लागि हुन् नसक्नुको पीडा अस्पतालको मुख सम्म देख्न नपाई आफ्ना आफन्त गुमाएका परिवारजनलाई सोध्नु पर्ने हुन्छ ।
रोग लागे पछि सबैलाई डर लाग्छ डर लाग्ने कुरामा को ठूलो को सानो हुदैन त्यस्तै राज्यका नागरिक सबै एक भए पछि कोहिले सामान्य उपचार रुघाखोकी लाग्दा, झाडापखाला लाग्दा, ज्वरो आउदा, टाउको दुख्दा एक गोली औसधि समेत पाउनबाट बन्चित हुने अनि कोहिले चाहि करोडौ रकम रोगलागेको आशंकामा पाउने यो कस्तो न्याय र समानता हो । हामी कुन युगमा बाँचिरहेका छौ ? के गरिव भएर जन्मनु अभिशाप नै हो ?गरिब र तिनका गरिवी प्रति राज्यले भेदभाब गर्न सुहाउछ ? हिजो राजामहाराजालाई दोष दिएर उम्कन मिल्थ्यो अब कसलाई दोष दिएर पन्छन सकिन्छ रु राज्यको यो विभेदकारी नीति किन ? सुजाता दिदी यहाँहरुको शाशन देशले भोगेको पनि झन्डै ३ दशक हुन् लाग्यो ? यो अवधिमा नीति निर्माण गरेर देशलाई सम्वृद्धिको दिशा तर्फ डोर्याउन उल्खेनिय भूमिका खेलेको देखिएन ? भेटिएन ? मलाई माफ गर्नु होला ! यस्तो दुखद र विषम घडिमा, गम्भीर रोगको आशंकाले आक्रान्त बनेकोबेला यो दुर्बाच्य बोल्नु परेकोमा मलाई ठुलो खिन्नता छ । जति सुकै अमानवीय लागे पनि मैले यो बेला तपाई सामु आफ्ना केहि प्रश्न राख्नु नैतिक दायित्व सम्झे !
प्रिय सुजाता दिदी !
देशमा अनगिन्ती विसंगति र विरोधाभाष अनि अचाक्ली अत्याचार, आनाचार,दुराचार र बेथितिहरु छन तर आज म तपाई अनि देशकै स्वास्थ्यसंग सम्बन्धित केहि तथ्य राख्न चाहन्छु जसरी तपाई आज क्यान्सरको आशंकाले पिरोलिनु भएको छ । देश अनि देशको स्वास्थ्य क्षेत्रमा आशंका मात्र हैन क्यान्सरले ग्रसित र अर्धमुर्छित अनि अपांग भएको कुरा छिपेको छैन, देसको स्वास्थ्य क्षेत्र ब्यापारी अनि अपराधीको अखडा बन्न थाल्यो, स्वास्थ्य हुनेका लागि मात्र भयो नहुनेका लागि स्वास्थ्य सेवा महँगो अनि आकाशको फल झैँ भयो स्वास्थ्य र शिक्षा नाफामुलक व्यापार बन्नु भएन भनी बारम्बार आवाज उठाउदै अनशन बस्ने डाक्टर गोविन्द के सी को समर्थनमा तपाईले कहिल्यै बोलेको,समर्थन गरेको सुनिएन ? अब भन्नुस गोविन्द केसी को आवाज के का लागि थियो ? गोविन्द केसी को आवाज उपचार खर्चको अभाव ले बिराट नार्शिंग होममा केहि दिन अगाडि हाम फालेर आत्महत्या गर्ने २५ बर्षीय अनुज विस्वास को लागि थियो थिएन ? के उसले राज्य बाट पाउने कुनै सुबिधा लिन पायो ? ऊ यो राजको नागरिक होइन रु केहि महिना अगाडी दोलखाको एक खड्का थरि युवक ले पनि शिक्षण अस्पताल महाराजगंज मा आफनो कारणले बाबु आमा र परिवारजनलाई परेको आर्थिक भार ऋण को कारण हाम फालेर ज्यान गुमायो के तिनीहरुको लागि हेर्ने सोच्ने र दीर्घकालीन हितको लागि राज्यले सोच्नु पर्दैन रु गरिब भएर जन्मनु रोग लाग्नु अनि त्यसको उपचारको लागि आफ्नो भएको घरखेत सिध्याउनु राज्य को लागि लाजमर्दो बिषय होइन रु सम्पति हुनेलाई राज्यले अरु सुबिधा दिने अनि सम्पति नहुने भएको पनि उपचारको शिलशिलामा बेचबिखन गरि सिध्याउनु पर्ने यो कस्तो बिडम्बना हो रु सहायता गरिबका लागि कि सम्पन्न विशिष्ट भनाउदा अशिस्टहरुको लागि राज्य कोष बाट करोडौ लुट्ने बिशिस्टहरु जो आफै सम्पन्न छन स्वदेशमा मात्र हैन बिदेशमा गएर समेत उपचार गर्ने हैसियत राख्छन तिनीहरुले लिएको रकम सम्झेर आत्महत्या गर्ने अनुज विश्वास र दोलखाका खड्का भाइ जसले गरिवीको दलदललाई अभिशाप ठाने त्यो दोष राज्यले लिनुपर्छ रु राज्यकोषबाट रकम हडप्नेहरुको आत्मालाई श्राप लाग्नुपर्छ ।
प्रिय दिदी ,
तपाईले पनि एक करोड सरकारसंग उपचार खर्च मागेको चर्चा सुनेर मलाई नमिठोसंग गरिव नेपालीको पक्षघात ग्रस्त भाग्य प्रति चुकचुकाउने अबसर प्राप्त भयो । तपाई एक सम्पन्न परिवारकी चेली जसलाई सामान्य उपचार खर्च जुटाउन गर्न अप्ठ्यारो पक्कै हुन्न । एक गरिव नागरिकलाई हेर्नुस उसले रोग लागेपछि कति कस्ट उठाउनु पर्छ । सकभर जे हुन्छ आफ्नो जायजेथा सो बेचेर खर्च जुटाउछ छेमिकी, नातागोता इष्टमित्र गुहार्छ उपचार गर्छ गराउछ तर राज्यलाई एक पैसा देउ भनेर जादैन सो एक स्वाभिमानी नेपाली बाट सिक्ने कि न सिक्ने ? तपाईले राज्यलाई हारगुहार गर्नुपर्ने अवस्था छैन !कृपया आफ्नो इज्जतको ख्याल गर्नुस । राज्यसंग भिकारी बनेर हैन राज्यलाई निर्देशन गरेर स्वास्थ्य क्षेत्र सुधार्न कसम खाएर लाग्नुस् । यो सुनौलो मौका हो जसले तपाईलाई कालान्तरसम्म जीवन्त बनाउने छ । अन्यथा उपचार अभावमा आत्महत्या गर्न, गरिन बाध्यहुने ज्ञातअज्ञात भड्किएका आत्माहरुले श्राप दिनेछन । दिदी तपाई पनि यसो गरि आफ्नो दीर्घ जीवन र क्यान्सरग्रस्त नेपालीको सु-स्वास्थ र आरोग्यताको लागि पहल गर्नुस ।
दूरदराजका गाउँहरु जहाँ झाडापखाला लागेर समेत अकालमा मान्छेहरु मर्छन । राज्यको गलत नीतिको कारण मारिन्छन तिनीहरुलाई बचाउन सबै गाउमा स्वास्थ्चौकी स्वास्थ्यकर्मी र औषधि कहिल्यै अभाव नहुने राष्ट्रिय स्वास्थ्य नीति तयार गरि लागु गराउन अहोरात्र खट्नोस । राज्यलाई खबरदारी गर्नुहोस । काठमाडौँ केन्द्रित अस्पतालहरूलाई जिल्ला क्षेत्र र गाउँ जहाँ सम्भब हुन्छ समानुपातिक र आवश्यकताको सैद्धान्तिक र ब्यबहारिक पक्ष हेरेर फैलाउने खोल्ने र उपकरण सहितको प्रावधानको लागि पहल गर्नुस । सम्बन्धित ठाउँको लागि सो पेरिफेरी का विद्याथीहरुले प्रतिस्पर्धा गरि कम्तिमा १० बर्स आफ्नो गाउँ ठाउँमा सेवारत रहने शर्तमा छात्रवृत्ति प्रदान गरि दक्ष चिकित्सक र जनशक्तिको लागि प्रयास थाल्नुस । क्यान्सर अस्पताललाई आत्याधुनिक उपकरणले र दक्ष जनशक्तिले भरि-भराउ गरि र घातक रोगको लागि राज्यबाट सर्बसुलभ र निशुल्क उपचारको व्यवस्था गराउनोस ।
पेट सिटिस्क्यान क्यान्सर उपचार पद्धतिमा नभई नहुने प्रबिधि हो जसलाई रोग पत्ता लगाउन देखि लिएर उपचार पछि रोगको अवस्था निर्क्योल गर्ने र फैलावट थाहा पाउन पनि भरपर्दो प्रबिधि हो जसको आवाश्यकता नेपालमा खट्केको छ । जसलाई तुरुन्त भित्र्याई स्वदेशबाट नै भारत भन्दा कम आर्थिक लागतमा उपचार गरि बिरामीलाई राहत दिन सकिन्छ भनी डाक्टरहरु भन्छन, सो तर्फ यथासम्भव पहल गर्नुस । नेपालमा प्रत्येक बर्ष २० हजार क्यान्सर रोगी थपिन्छन भन्ने अनुमानित आंकडा छ तिनीहरु प्राय सबै नेपालमा नै सर्बसुलभ सेवा चाहन्छन त्यसको लागि नीतिगत तयारी गरि काम थाल्नोस । राज्यले दिने उपचार खर्चको हिसाब किताब गरि बर्षमा एक अत्याधुनिक अस्पताल निर्माणको लागि बजेट तर्जुमा गर्नुस । माफिया र ब्यापारीहरुको पैसा छाप्ने मेशिन बनेको स्वास्थ्य क्षेत्रलाई पवित्र सेवा गर्ने हात र मनहरुलाई ब्यबस्थापन गर्ने चांजोपांजो मिलाउनुहोस । शिक्षा र स्वास्थ्यलाई व्यापार हैन सेवामुलक, सामाजिक र कल्याणकारी क्षेत्रको रुपमा राज्यले बुझी ,बुझाई ब्यबस्थित र आधुनिकीकरण गरि बिनाभेद सबैलाई समान पहुँच र अबसर पुग्ने वातावरणमा पुर्याउने चेस्टा र संकल्प गर्नुस, तपाईको आधा बिमार त्यसै घट्नेछ ।
प्रिय दिज्यू सुजाता ,
तपाईको पून: शीघ्रातिशीघ्र स्वास्थ्यलाभको कामना गर्दै आम नेपालीको भावना मुखरित गर्न पाएकोमा खुशी र यहाँबाट उचित पहल कदमिको मिठो अपेक्षा राख्दै बिदा माग्दछु ।
जय नेपाल !
उही तपाईको भाइ
संजिव कार्की
प्रतिक्रिया दिनुहोस्