३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


कन्चनपुरमा ९ ओटा स्थानीय तह बनाउने सहमति


0
Shares

कन्चनपुर, कात्तिक २२ । कन्चनपुरमा ९ ओटा स्थानीय तह बनाउने सहमति भएको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा ९ स्थानीय तह बनाउने सहमति गरेका हुन् ।

स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कन्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक ८ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए ।

‘भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउनेबारे सहमति भएको छ’–उनले भने ।

दोधाराचाँदनी, बेल्डाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर, झलारी पिपलाडी र बेदकोटलाई नगरपालिकामै कायम राख्ने सहमति भएको छ ।

देखतभुलीका वडा नम्बर–८ र ९ लाई कृष्णपुरमा गाभ्ने निर्णय गरिएको छ ।

शंकरपुर गाविसका सबै वडा, देखतभुलीका १ देखि ७ सम्मका वडा, बाइसेविचुवा र रैकवारविचवाका केही वडालाई सम्मिलित गरी लालझाँडी नगरपालिका बनाउने सहमति भएको स्थानीय विकास अधिकारी पौडेलले बताए ।

यसअघि शंकरपुर देखतभुली, बाइसेविचुवा र रैकवारलाई राना–थारुको बाहुल्यता रहेको क्षेत्रलाई रानाथारु स्वायत्त संरक्षित क्षेत्र घोषणा गर्ने जिल्ला प्राविधिक सहयोग समितिले निर्णय गरेको थियो । संख्याकोमात्रै टुंगो लागेको र नामाकरणको टुंगो लाग्न बाँकी रहेको छ ।

‘भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसंख्यालगायत आयोगले तोकेको मापदन्डका आधारमा राजनीतिक सहमतिमा स्थानीय तहमा सहमति भएको छ’–उनले भने ।

सहमति भएका विषयलाई सिफारिस साथ केन्द्रमा पठाइने उनले बताए । रासस