फाइल फोटो
खोटाङ, कात्तिक २२ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अंगीकृत नागरिकलाई १० वर्षपछि राष्ट्रप्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गरे ।
अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुन्ठित गर्न नहुने बताए ।
‘संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैन’–उनले भने–‘लागू गर्न खोजिए पार्टीले अस्वीकार गर्छ ।’
संविधान कार्यान्वयन जनपरिचालन अभियानका क्रममा आइतबार खोटाङ आएका महासचिव पोखरेलले नेपालमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताए ।
निर्वाचन प्रक्रिया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देश–विदेशका शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको आरोप लगाए ।
महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भएपनि संशोधनका विषयवस्तु औपचारिकरुपमा नल्याइएको बताए ।
संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पस्टसँग प्रस्तावमा ल्याउनुपर्ने उनको भनाइ छ ।
अर्को प्रसंगमा लोकमानको नियुक्तिका विषयमा सुरुमै विवाद भएको पत्रकार सम्मेलनमार्फत् स्पस्ट पारे ।
‘लोकमानलाई असावधानीपूर्वक नियुक्ति गरिएको थियो’–उनले भन्नुभयो–‘हामीले विवादित व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भनेका थियौं ।’
दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले ‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणकाबेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय’ रहेको टिप्पणी गरे । रासस









प्रतिक्रिया दिनुहोस्