
काठमाडौं, कात्तिक २३ । भारतको मुम्बईबाट सुदुरपश्चिम नेपालको धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
भारतको घोडबन्दर क्षेत्रमा सोमबार दिउँसो सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु र सामान लोड भएका कारण बस दुर्घटना भएको हो । अर्को सवारी साधनलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकमै बस पल्टिएको स्थानीय प्रहरीले जनाएको छ ।
घाइते यात्रीलाई तत्कालै स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । तीमध्ये १३ जनालाई सोमबार साँझ उपचारपछि डिस्जार्ज गरिएको र बाँकी तीनजनाको उपचार जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बसमा सवार कैलाली जिल्लाका जनक देवकोटाका अनुसार चालकले बढी रकमको प्रलोभनमा क्षमताभन्दा बढी सामान लोड गराएका थिए । बसमा करिब ९० यात्रु रहेको पनि उनले बताए ।
दुर्घटना लगत्तै सो बसका चालक फरार भएका छन् । उनको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्