धनगढी, कात्तिक २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अंगिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन, कैलालीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले अंगिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पुर्याए राष्ट्रको हित नहुने धारणा राखे ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै उनले राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्ने उल्लेख गरे ।
पत्रकारको प्रश्नमा उनले संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उनले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्छ भन्ने कांग्रेसको धारणा रहेको प्रष्ट पारे । (रासस)









प्रतिक्रिया दिनुहोस्