काठमाडौं, कात्तिक २३ । काठमाडौंको कोटेश्वर, पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय कब्जा गरी बसेका बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई प्रहरीले हटाएको छ ।
पार्टी मुख्यालय नै कब्जामा लिएर बसेका पूर्वलडाकुलाई प्रहरीले मंगलबार बिहान बल प्रयोग गरी हटाएको हो । त्यसक्रममा प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबार र नेपाल पुलिस क्लबमा राखिएको छ ।
पक्राउ परेका बहिर्गमनमा परेका पूर्वलडाकुहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सोमबार दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर पार्टी कार्यालय कब्जा गरेका थिए ।
सयौंको संख्यामा रहेका बहिर्गमित पूर्वलडाकुहरु बालबच्चासहित नै पार्टी कार्यालयमा बसेका थिए ।
मूलगेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्नसमेत दिएका थिएनन् ।
निःशर्तरुपमा ‘अयोग्य’ शब्द हटाउनुपर्ने, पूर्वलडाकुहरुले पाएसरहको दीर्घकालीन व्यवस्था गर्नुपर्ने, आफूहरुको बालअधिकार हनन् भएकाले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्नेलगायतका सातओटा माग उनीहरुले अघिसारेका छन् ।









प्रतिक्रिया दिनुहोस्