
काठमाडौं, कात्तिक २३ । हिन्दूहरुको आराध्यदेव पशुपतिनाथलाई बुद्धकोरुपमा मंगलबार पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी पर्व मनाएको छ ।
पशुपतिनाथको शिवलिंगमा चैत्यसहितको सुन तथा चाँदीको पञ्चबुद्धको मुकुट लगाएर तन्त्र तथा बज्रयान र सनातन विधिबाट विशेष पूजा गरिएको थियो ।
अक्ष्योभ्य, रत्नसम्भव, अमिताभ, अमोधसिद्धि र वैरोचन पञ्चबुद्धको मुकुट पशुपतिनाथको शिवलिंगमा पहिराइएको थियो ।
तन्त्र तथा बज्रयानी बौद्धमार्गीहरु पशुपतिनाथलाई अष्ट बोधिसत्वकोरुपमा पुज्ने गर्दछ ।
परापूर्वकालमा भगवान् बुद्धले विरुपाक्षबाट शिवलाई पञ्चबुद्धको मुकुट पहिराएको बचाएकोले शिवलिंगमा पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी मनाउने गरेको किम्बदन्ती छ ।
बज्रयानी बौद्ध मार्गीहरु आज घर, विभिन्न विहार, बहाल र बहिलहरुमा मुखाअष्टमी उपसोथ व्रत बसी बुद्ध, लोकेश्वर, बोधिसत्व, तारा र प्रज्ञापारमिताको साधना गर्ने गरिन्छ ।
यस्तो छ मुखअष्टमी, पञ्चबुद्धको मुकुट लगाएको महादेवको किम्बदन्ती
परापूर्वकालमा नेपालमा धर्मदत्तको शासनकालमा एक सुन्दर किराँत बिरुपाक्ष थिए । बिरुपाक्ष १२ वर्षको उमेरमा आफ्नी आमासँग खटपट भइ घर छोडे र आमा पनि पछि घर छोडी हिँडिन् ।
केहि वर्षपछि एक जंगलमा आमा छोराको भेट भयो । तर, दुबैले एकले–अर्कालाई नचिनी कामबासनाले दुबै बीच सहबास भएछ ।
पछि आफूहरू आमा–छोरा सम्बन्ध रहेको थाहा पाएर पश्चाताप गर्दै आफूले गरेको पापकर्म मोचन गर्न बिरुपाक्ष पशुपति महादेवको शरणमा पुगे ।
बिरुपाक्षको सम्पूर्ण पापकर्म सुनेर महादेवले १२ धार्नी तामालाई पगालेर त्यसको झोल बनाइ पिए पापमोचन हुन्छ भनेपछि जंगलमा गएर एउटा ठूलो भाँडोमा १२ धार्नी तामा पकाउँदै उमाल्न थाले ।
तामा पग्लियो भनेर ढकनी खोलेर हेर्दा पग्लिएको तामाको रापले बिरुपाक्षको अनुहार कुरूप हुने गरी जलेछ । त्यसपछि महादेवप्रति अविश्वास भएपछि भगवान बुद्धको शरणमा पुगे ।
बुद्धले बिरुपाक्षलाई जब जपमाला पूर्णरूपमा खुइलिन्छ, तिम्रो पापकर्म मोचन हुन्छ भनेपछि बिरुपाक्ष बागमतीको किनारामा बुद्धले दिएका मन्त्र जप गर्दै बसे ।
लामो समयसम्म पनि जपमाला नखुइलेपछि निराश हुँदै उनी बाहिरिए । खोलाको छेउमा एउटा माग्ने बच्चा एक ठूलो फलामको पाता ढुंगामा घोट्दै दिए ।
अचम्म लागेर के गरिरहेको भनेर सोध्दा ‘मेरो लुगा साह्रै पुरानो भयो, म यो फलामको पाता घोटेर सियो बनाउँछु र लुगा सिलाउँछु’ भन्ने जवाफ पाए । बिरुपाक्ष बच्चाबाट प्रभावित भएर फेरि जप गर्न थाले । फेरि लामो समयसम्म पनि जपमाला नखुइलेपछि पुनः बाहिर निस्के । दुईजना मान्छेहरू धागोले फिटकिरी काट्दै गरेको देखे ।
अर्को ठाउँमा रुखलाई एकैचोटी बन्चरोले काट्यो भने ठूलो बेदना हुन्छ भन्दै सियोले घोच्दै रुखलाई ढाल्न खोज्दै गरेको दृश्य, एकठाउँमा चराहरू आफ्नो चुच्चोले तलाउको पानी ओसारीरहेको पनि देखे ।
यस्तो देखेर बिरुपाक्षलाई मनमा बुद्धले आफूलाई धेरै ठूलो काम अह्राएको रहेन छ, यस्ता बच्चा, मानिस, चराजस्ताले त यत्रो कामहरू सिद्ध गर्न सक्छ भने म किन नसक्नु भन्दै पुनः जप गरे ।
पछि जपमाला खुइलिएर पापकर्मबाट मुक्त भएपनि बिरुपाक्षको शिवसँग रिसाउँदै शिवलिंग प्रहार गर्दै हिँड्न थाले । महादेव अब आफूलाई पनि हिर्काउन आउँछ भन्ने ठानेर बुद्धको शरणमा पुगे । महादेवलाई बचाउन बुद्धले महादेवलाई पञ्चबुद्ध अंकित मुकुट लगाउन दिए ।
बिरुपाक्ष महादेवलाई हिर्काउने भन्दै महादेवको अगाडि आए तर पञ्चबुद्धको मुकुट लगाएको देखेर आफ्नो गुरु सम्झेर बन्दना गर्दै शान्त भए ।
यसैदिनको सम्झनामा मुख अष्टमी परम्परा चलेको विश्वास रहँदै आएको छ । नेपालमा यो परम्परा धार्मिक सहिष्णुताको प्रतीक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्