
फाइल फोटो
मोरङ, कात्तिक २३ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले मोरङमा एक महानगरपालिकासहित १७ ओटा स्थानीय तह बनाउन सिफारिस गरेको छ ।
जिल्लामा रहेका राजनीतिक दलको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाउने, १० नगरपालिका र ६ गाउँपालिका बनाउनका लागि स्थानीय तह पुनःसंरचना आयोगमा सिफारिस गरेको हो ।
मोरङका स्थानीय विकास अधिकारी एवं स्थानीय तह पुनःसंरचना सहयोग समितिका संयोजक शोभाकर रेग्मीले सबै दलको सहमतिमा प्रविधिक सहयोग समितिले आयोगसमक्ष स्थानीय तहको पुनःसंरचनाको संख्याको खाका सिफारिस गरेको जानकारी दिए ।
आयोगले मोरङमा १२ देखि १७ ओटा ‘क्लस्टर’ तोकेको थियो । सिफारिसअनुसार जिल्लामा थप दुईओटा नगरपालिका तोकिएको छ ।
जसअनुसार हाल रहेको सात नगरपालिकालाई थप गरी रतुवामाई र मिक्लाजुङ नगरपालिका समावेश छन् ।
इटहरा, सिजुवा, गोविन्दपुर, झुर्किया, महादेवा तथा वरडंगा गाविसलाई समावेश गरेर रतुवामाई नगरपलिका र रमिते, टाँडी र मधुमल्ला गाविसलाइ समेटेर मिक्लाजुङ नगरपालिका बनाउनका लागि प्रस्ताव गरिएको छ ।
यसअघि, स्थानीय तहमा विराटनगर महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका बनाउने गरी संख्या टुंगो लागेको थियो ।
समितिका अनुसार मधेसी र थारू क्लस्टर कायम गर्ने पनि प्रस्ताव गरिएको छ ।
२०६८ सालको जनजणनाअनुसार ९ लाख ६० हजार जनसंख्या रहेको जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका र ५० गाविस रहेको छ । विराटनगरमामात्र दुई लाख एक हजार जनसंख्या रहेको छ ।
विराटनगरलाई महानगरपालिका बनाउन आवश्यक संख्या पुर्याउन सिमाना जोडिएका वैजनाथपुर र बुधनगर गाविसलाई समावेश गर्ने प्रस्ताव आयोगसमक्ष पेस गरिएको हो ।
महानगरपालिका बनाउन तीन लाख १५ हजार जनसंख्या आवश्यक पर्ने भएपछि अरु छिमेकी गाविस वैजनाथपुर र बुधनगरलाई समावेश गरिएको हो ।
दुई गाविस जोड्दा पनि हाल विराटनगरको कुल जनसंख्या दुई लाख ८१ हजार पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस्