
हरि शर्मा (इमेज)
परासी, चैत १५ । प्रमुख जिल्ला अधिकारीले अधिकार क्षेत्र नाघेर कार्यालयमा हस्तक्षेप गरेको भन्दै डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले असन्तुष्टि जनाएको छ ।
संघ मातहत रहेको जिल्ला प्रशासन कार्यालयले प्रदेश मातहत रहेको वन कार्यालयको काम–कारबाहीमा हस्तक्षेप गरेको भन्दै डिभिजनल वन अधिकृत प्रेमशंकर चौधरीले असन्तुष्टि जनाएका हुन् ।
छड्के निरीक्षण
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बिहीबार (हिजो) दिउँसो वन कार्यालयको छड्के निरीक्षण गरेका थिए । त्यसक्रममा वन अधिकृत चौधरी कार्यालयमा अनुपस्थित थिए ।
हाजिर रजिष्ट्ररमा रातो मसी लगाएर प्रमुख जिल्ला अधिकारीले अनुपस्थितको स्पष्टीकरण सोधेपछि चौधरीले संघ मातहत रहेको कार्यालयले प्रदेश मातहतको कार्यालयमा छड्के गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
छड्के भएको दिन कार्यालयको काम लिएर आफू प्रदेश मन्त्रालयमा सचिवसँग रहेको उनको भनाइ छ ।
‘सुशासन ऐनअन्तर्गत् रहेर निरीक्षण’
सुशासन ऐनअन्तर्गत् रहेर प्रदेश मातहतका कार्यालयहरुको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरेको प्रजिअ लामिछानेले बताए ।
प्रदेशमा मन्त्रालय छ भन्दैमा जिल्लामा रहेका कार्यालयहरुको अनुगमन र सुपरीवेक्षण गर्न नपाउने भन्ने तर्क गर्नु गलत भएको जिकिर लामिछानेले गरे ।
जिल्लामा संघीय सरकारको उपस्थिति भएकाले सबै कार्यालयको अनुगमन र सुपरीवेक्षण पनि प्रशासनले गर्ने उनले उल्लेख गरे ।
कार्यालयमा अनुपस्थित भएका वन अधिकृतलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए कारबाहीका लागि प्रक्रिया अघि बढ्ने प्रजिअ लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्