
काठमाडौं, कात्तिक २५ । संसदको विकास समितिले काठमाडौंको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडक विस्तारमा ढिलाई हुनुको कारण पेस गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ ।
सडक बिस्तार हुन नसक्दा जनस्वास्थ्यमा धुलोको कारण प्रतिकुल असर परेको भन्दै समितिले बिहीबार सम्वन्धित निकायसंग छलफल गरी सडक विस्तार कार्य छिटो सम्पन्न गर्न भनेको हो ।
समितिले कुनै पनि राजनीतिक दवावमा नआइ सडक विस्तार कार्यलाई निरन्तरता दिन प्राधिकरणलाई निर्देशन दिएको छ ।
यस्तै विभिन्न स्थानहरुमा खाल्डो परेका सडकहरुलाई अविलम्व पुरेर आवजजावत सहज वनाउन समितिले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
बैठकमा उपत्यका विकास प्राधिकरणका कार्यकारी प्रमुख भाइकाजी तिवारीले प्राधिकरणमा जनशक्तिको अभाव रहेको भन्दै लोकसेवा मार्फत अविलम्व पदपुुर्ती गर्नुपर्ने बताए ।
उनले यसै आर्थिक वर्ष भित्र वाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गर्ने योजना रहेको पनि बताए ।
बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मापदण्ड विपरित रहेका संरचनाहरु छिट्टै हटाइने जानकारी दिए ।
खानेपानी र विद्युत प्राधिकरण जस्ता निकायले समन्वय गरी सडक विस्तारको काम गर्नुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्