१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


ओबामाद्वारा ट्रम्पलाई ह्वाइट हाउसमा निमन्त्रणा


0
Shares

वासिंगटन, कात्तिक २५ । अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि विहीबारै आउन निमन्त्रणा गरेका छन् ।

राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घन्टापछि शान्त र सहज तरिकाबाट सत्ता हतान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन् ।

आगामी जनवरी २० का दिन हुन गइरहेको औपचारिक सत्ता हस्तान्तरण समारोहभन्दा अगाडि निवर्तमान र भावी राष्ट्रपतिकाबीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सन्चारमाध्यमहरुले अतिमहत्वका साथ प्रसारण गरिरहेका छन् ।

अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न लागेकी हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई विजयी गराउने कार्यले विश्व नै चकित परेको छ ।

यता, निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुस्ट डेमोक्र्याट समर्थक जनताहरु नवनिर्वाचित, ७० वर्षीय राष्ट्रपतिको विरोधमा न्यूयोर्कदेखि लसएन्जलससम्मका धेरै सहरहरुमा जुलुस प्रदर्शन, नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन् ।

यसैबीच, नवनिर्वाचित राष्ट्रपतिले आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने कुरा दोहोर्‍याएका छन् । रासस/एएफपी