काठमाडौं, कात्तिक २५ । मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० हजार रहेको छ ।
हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राससको जिज्ञासामा नेपाल राष्ट्र बैंकले सो जानकारी दिएको हो ।
राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारीसहित राष्ट्र बैंकले विहीबारै रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिए ।
मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम नभएको तर सर्वसाधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।
उनका अनुसार भारत सरकारले अवैधानिक र गैरकानुनीरुपमा राखिएका रकम नस्ट गर्ने उद्देश्यले उक्त नीति लिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्णप्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
उनले सम्बोधनका क्रममा सर्वसाधारणलाई यही कात्तिक २५ देखि आगामी पुस १५ गतेसम्म आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत् जम्मा गर्न आग्रह गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्