Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


गठबन्धनले कात्तिक मसान्तसम्म पर्खने


0
Shares

                                                                               फाइल फोटो
काठमाडौं, कात्तिक २५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारले आफैं घोषणा गरेको समयावधिमा पनि संविधान संशोधन विधेयक दर्ता गराउने तयारी नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

स्थानीय तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा विहीबार भएको गठबन्धनको बैठकले यही कात्तिक मसान्तभित्र विधेयक व्यवस्थापिका–संसदमा दर्ता नभए पुनःसंघर्षमा उत्रने निर्णय गरेको छ ।

समयावधि बित्नै लाग्दा पनि सरकारले संशोधन विधेयक दर्ता गराउने संकेत नदेखाएको भन्दै आन्दोलनमा जाने निर्णय भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवं गठबन्धन सचिवालय सदस्य केशव झाले राससलाई जानकारी दिए ।

‘भोलिदेखि नै केही न केही विरोधका कार्यक्रम सुरु हुन्छ तर मसान्तसम्म हेर्छौं, त्यो अवधिमा नभए देशभर विरोध कार्यक्रम ल्याउने निर्णय भएको छ’–उनले भने ।

एक साताअघि सत्तारुढ दलले मोर्चासँग छलफल गरी कात्तिकको अन्तिम साता संशोधन विधेयक दर्ता गराउने निर्णय गरेका थिए ।

बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष शरत्सिंह भण्डारीलगायत नेता उपस्थित थिए । रासस

Skip This