
सनफ्रान्सिस्को, कात्तिक २५ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते भएका छन् ।
अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्रहारमा परी उनीहरु घाइते भएका हुन् ।
स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्पविरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।
सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकान्ड ट्रम्पविरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको बताएका छन् । घटनास्थलबाट एकजना पक्राउ परेका छन् ।
घाइते भएका पाँचजनामध्ये एकजना महिला र चारजना पुरुष रहेका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नि नियन्त्रण विभागले ट्वीटरमार्फत् जानकारी दिएको छ ।
घटनाकाबारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्