
काठमाडौं, चैत १५ । पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वराजदूत डा. भेषबहादुर थापालाई पुत्री शोक परेको छ । डा. थापाकी पुत्री तेजश्री थापाको गत मंगलबार अमेरिकामा निधन भएको हो ।
ह्युमन राइट्स वाच (एचआरडब्लू)की वरिष्ठ दक्षिण एशिया अनुसन्धानकर्ता ५२ वर्षीया थापाको अमेरिकाको न्यूयोर्क सिटीमा मृत्यु भएको हो । उनको निधनमा वाचले बुधबार शोक मन्तव्य व्यक्त गर्दै रोगका कारण थापाको निधन भएको जनाएको छ ।
तेजश्री कूटनीतिज्ञ थापा र जनस्वास्थ्यविद् डा.रीता थापाकी जेठी छोरी हुन् । नेपाली मूलकी साहित्यकार मञ्जुश्री तेजश्रीकी बहिनी हुन् ।
वाचमा काम गर्नु पूर्व थापाले मानवअधिकारकर्मीका रुपमा संयुक्त राष्ट्रसंघ, द हेगस्थित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल, बाल्कन, बाङ्लादेश, श्रीलंका, नेपाललगायत देशमा काम गरेकी थिइन् । थापाकी १८ वर्षकी छोरी छिन् ।
महिलामाथि हुने हिंसाको विरुद्धमा पूर्व यूगोस्लाभिया र संयुक्त राष्ट्रको विशेष सम्बन्धको लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधीकरणको रुपमा पनि काम उनले काम गरेकी थिइन् ।
थापा परिवारलाई यो दोस्रो सन्तान शोक हो । पाँच वर्षअघि थापाका जेठा छोरा भाष्करको पनि अमेरिकामै निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्