काठमाडौं, कात्तिक २५ । नेपाल चेम्बर अफ कमर्सले भारत र चीनका लागि नवनियुक्त राजदूतहरुलाई यी मुलुकसँग सन्तुलित व्यापारको वातावरण बनाउन पहल गर्न आग्रह गरेको छ ।
विहीबार राजदूतहरुको स्वागतमा चेम्बरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीनसँग सन्तुलित व्यापार कायम गर्न आग्रह गरेका हुन् ।
उनले दुबै देशसँगको सीमा पर्यटन तथा सीमा व्यापारलाई प्राथमिकतामा राख्नसके नेपालले प्रशस्त लाभ लिनसक्ने बताए ।
दुबै मुलुकसँग कुनै सम्झौता गर्न लाग्दा नेपालीहरुमा डरको वातावरण सिर्जना भइ काम अगाडि बढ्न नसकेको उनले आरोप लगए ।
क्वारेन्टाइन, पारवहनलगायतका क्षेत्रमा रहेका समस्या समाधान गर्न पहल गर्न पनि उनले जोड दिए ।
भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले भारत र नेपालबीच रहेको ‘ट्रेड ग्याप’ कम गर्नुपर्ने बताए ।
उनले नेपालमा भारतीय र चिनियाँ लगानी भित्र्याउन उचित वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे ।
भारत र चीनको सीमा क्षेत्रमा विदशी लगानीमा उद्योग स्थापना गरी भारत र तिब्बतमा निकासी गर्न सकिने सम्भावना रहेको उनले बताए ।
उनले आफू नेपाली व्यवसाय प्रवद्र्धनमा सक्दो लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यस्तै, चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले विदेशी लगानीकर्तामाझ नेपाली व्यवसायीहरुको विश्वसनीयता गुमेको गुनासो गरे ।
त्यसलाई सुधार गरी तत्कालको फाइदाभन्दा दीर्घकालीन फाइदामा ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।
उनले नेपाली व्यवसायीहरुको हितका लागि आफू सदा तत्पर रहने आश्वासन पनि दिए ।





प्रतिक्रिया दिनुहोस्